July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कोशीमा नयाँ सरकार गठन : सभामुखमा गएर अड्कियो हलो, राप्रपालाई मनाउन माओवादीको दबाब

 

विराटनगर

कोशी प्रदेश सरकार गठनबारे नयाँ बहस शुरू भएको छ । संघीय सत्ता गठबन्धनले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने सहमति गरेसँगै प्रदेशमा नयाँ बहस शुरू भएको हो । थापालाई बहुमत सिद्ध गर्नै समस्या हुनेगरी गठबन्धनभित्र बहस शुरू भएको छ । कोशीमा कांग्रेस–माओवादीसहितको गठबन्धनसँग हाल ४६ सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ४७ सांसदको समर्थन चाहिन्छ ।

बहुमत पुर्‍याउन कांग्रेसले सभामुख बाबुराम गौतमले राजीनामा दिनुपर्ने तर्क अगाडि सारेको छ । नेकपा माओवादी केन्द्रबाट सभामुख भएका गौतमले राजीनामा दिएर समर्थन गरे कांग्रेस–माओवादीको गठबन्धनसँग बहुमत पुग्छ । हाल विपक्षी गठबन्धनमा कांग्रेस–माओवादीसहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल छन् ।

कांग्रेसले सभामुख गठबन्धनकै भएकाले बहुमत पुग्न कुनै समस्या नहुने बताएको छ । कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले सभामुखले सहयोग गर्ने बताए । ‘सभामुख गठबन्धन भित्रकै हुनुहुन्छ,’ कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भने ‘उहाँले सहयोग गर्नुहुन्छ। राप्रपासँग पनि छलफल भइरहेको छ ।’ राईले भोलि नै बहुमत पुर्‍याएर नयाँ सरकारको दाबी गर्ने बताए ।

यता माओवादीले भने सरकार बनाउन सभामुखको कुनै भूमिका नहुने स्पष्ट पारेको छ । मुख्यमन्त्रीमा दाबी गर्दै आएको माओवादीले प्रदेश सरकारको नेतृत्व गर्न नपाउने भएपछि सभामुखलाई विवादमा ल्याउन नहुने तर्क गरेको छ  । कांग्रेसले बहुमत पुर्‍याउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मनाउनु पर्ने माओवादीको तर्क छ । ‘सभामुखलाई विवादमा ल्याउन हुँदैन,’ माओवादीका एक प्रदेश सांसदले भने ‘सभामुखबाहेक बहुमत पुर्‍याउन कांग्रेसले ध्यान दिनुपर्छ ।’

गौतम एमालेको सहयोगमा माओवादीबाट सभामुख बनेका थिए ।

माओवादीले सभामुखलाई विवादमा ल्याउनु नहुने तर्क गरेसँगै थापालाई नयाँ सरकार बनाउन थप संकट आइलाग्ने देखिएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस संसदीय दलका नेता थापालाई बहुमत जुटाउने जिम्मा दिने निर्णय गरेको थियो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले थापालाई नै बहुमत जुटाउने जिम्मा दिएको  बताए । केन्द्रीय गठबन्धनको निर्णयसँगै अब कांग्रेस संसदीय दलका नेता थापाले बहुमत जुटाउनु आफैं खट्नु पर्ने उनको भनाइ छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङबोले कांग्रेसले नै बहुमत सिद्ध गर्नुपर्ने बताए । आफूहरू केन्द्रीय गठबन्धनको निर्णय मानेर अगाडि बढ्ने भन्दै कांग्रेसले राप्रपालाई मनाउनुपर्ने उनको भनाइ छ। ‘अब गठबन्धनले गरेको निर्णय नमान्ने कुरा भएन । कांग्रेसले राप्रपालाई मनाएर बहुमत सिद्ध गर्नुपर्‍यो । राप्रपालाई नमनाउँदा अस्थिर हुने अवस्था बन्छ । सबै जिम्मेवारी कांग्रेससँग छ । हामी त सहयोग गर्न तयार छौं,’ नेता आङबोले भने ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न दलहरूलाई २१ गते साँझ ५ बजेसम्मको दिएका छन् ।

राप्रपाले नयाँ सरकार गठनबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । राप्रपाले प्रदेश सरकार गठन र सत्ता समीकरणबारे निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ ।

नेकपा एमाले भने नयाँ सरकार गठनका लागि बल नगर्ने पक्षमा छ । लगतै संविधानको धारा १६८ (३) अनुसारको सरकार बन्ने भएकाले अहिले नयाँ सरकारका लागि टाउको दुखाउनु पर्ने कुनै बाध्यता नभएको एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए ।

सत्ता गठबन्धनले सभामुखको नाम लिएर सरकार बनाउन हस्ताक्षर गरेर गए संसद् चल्न नदिने उनले चेतावनी दिए । ‘हामी प्रदेशको ठूलो दल हो । राप्रपाले पनि अहिलेसम्म हामीलाई साथ दिएको छ । भोलि पनि साथ दिने उसको संकेत छ,’ उनले भने, ‘राप्रपाले पनि साथ दिँदा हामीसँग ४६ पुग्छन् । यदि सभामुखले सरकार बनाउन हस्ताक्षर गर्नुभयो भने तपाईंले सभा चलाउने अधिकार गुमाउनु भयो भनेर एक साथमा भन्ने छौं ।’

प्रदेशमा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद छन् । त्यस्तै एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।