September 7, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

असार ३०, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।

यस उपधारा अनुसार प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। ओलीले नेपाली कांग्रेसको समर्थनमा शुक्रबार प्रधानमन्त्री पदका लागि दाबी पेश गरेका थिए। उनले एमाले र कांग्रेसका गरी १६५ सांसदको समर्थन रहेको देखाएका थिए।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति पौडेलले नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। उनले आइतबार बेलुका ५ बजेसम्मको समय दिएका थिए।

समयावधि सकिएसँगै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। हिमालखबर