काठमाडौँ-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका कारण पशुपतिनाथ मन्दिरबाट आइतबार दिउँसो निकालिएको जलहरी बुधबार बल्ल पुन: प्रतिष्थापन गरिने भएको छ।
करोडौँ हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथमा राखिएको १०७ किलोभन्दा बढी तौल भएको जलहरीको सुन र गुणस्तरमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नापजाँचका लागि जलहरी निकालेको थियो। पुन: राख्न चाहिने लाहा नभएका कारण उक्त जलहरी पुन: प्रतिष्थापन गर्न सकिएको छैन। बंगलौरबाट मंगलबार राति बल्ल लाहा आएपछि बुधबार जलहरी पुन: प्रतिष्थापन गरिने पशुपति स्रोतले जानकारी दिएको छ। ४० किलो लाहा बंगलौरबाट मंगलबार राति नेपाल आइपुग्दैछ ।
पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी निकाल्नुअघि विशेष क्षमापूजा गरिएको थियो। क्षमापूजाका लागि कर्नाटकबाट बोलाइएका भास्कर भट्टले तीन दिनसम्म लगाएर क्षमापूजा गरेका थिए। बिहीबार, शुक्रबार र शनिबार भएको क्षमापूजामा १०१ जना समूह खटिएको थियो। ८० जना नेपाली र कर्नाटकबाट आएका २१ जना व्यक्तिहरु सहभागी टोलीले गरेको क्षमापूजाका लागि दक्षिणाको व्यवस्था भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले गरेका थिए। भास्कर भट्टलाई दिइएको २ लाख ५१ हजारसाथै अन्य व्यक्तिहरुलाई दिइएको दक्षिणाको व्यवस्था गुरुङ आफैँले गरेको स्रोतले जानकारी दिएको छ।
भास्कर भट्ट यसअघि पनि पशुपतिमा हुने विशेष पूजाका अवसरमा आउने गरेको र दक्षिणाका लागि कुनै बार्गेनिङ नगर्ने गरेको पशुपतिको स्रोतले जानकारी दिएको छ।
गुरुङले यसअघि पनि पशुपतिमा विशेष दान दिएका थिए। जलहरी स्थापनाका क्रममा उनले करिब ३ करोड रुपैयाँ उनले दान दिएका थिए। अर्का व्यापारी सुवास संघाइले अझ त्योभन्दा बढी चन्दा दिएको स्रोतले जानकारी दिएको छ।
छानबिनका क्रममा अख्तियारसँगको बयानमा पशुपतिमा मूलभट्ट गणेश भट्टले सुनमा कुनै खोट नभएको बताएका छन्। ‘सुरुको सुनमा कुनै खोट छैन, त्यसपछि के भयो, हामीलाई थाहा छैन,’ भट्टले अख्तियारलाई दिएको बयान उद्धृत गर्दै स्रोतले भन्यो।
जलहरी स्थापनाका क्रममा गुरुङले भने जस लिँदै नाम लेखाउन नचाहेको पनि स्रोतले जानकारी दिएको छ। तर, पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालले यसमा सहभागी सबैको नाम राख्न अडान लिएका थिए। पशुपतिका मूलभट्ट गणेश भट्टले भने नाम राख्न नहुने सझाव दिएका थिए। जलहरी स्थापनाका क्रममा राज्यकोष र पशुपतिबाट खर्च भएको रकमका अतिरिक्त ठूलो रकम उठेको तथा अख्तियारले यसको हिसाबकिताब खोजेको पनि स्रोतले जानकारी दिएको छ।
मंगलबार बेलुकी लाहा आइपुगेपछि बुधबार क्षमापूजापछि मात्र जलहरी पुनर्स्थापना गरिने पनि पशुपति स्रोतले जानकारी दिएको छ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार