July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

जग्गाको कित्ताकाट खुल्यो

 

कावासोती, असार १२ गते ।

पूर्वी नवलपरासीको मध्येविन्दु नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको हो ।

यस अगाडी सरकारले जग्गाको वर्गिकरण नभएका कित्ताहरुको कित्ताकाट रोक्का गरेको थियो । भू-उपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ तथा भू-उपयोग नियमावली २०७९ को नियम ५ उपनियम १ र सोही नियमावलीको अनुसूची १ बमोजिम जग्गाको वर्गिकरण गरिएको नगरपालिकाका भूमी सम्बन्धी शाखा प्रमुख समेत रहनुभएका प्रशासन शाखा प्रमुख विष्णुराज गौतमले बताउनुभयो।

नगरपालिकाले मालपोत कार्यालय कावासोतीमा जग्गा वर्गिकरण प्रतिवेदन र नापी कार्यालय कावासोतीमा जग्गा वर्गिकरण प्रतिवेदन र आद्यावधिक गरेको नक्सा तथा सोको सफ्टकपी पेश गरेको नगरप्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो । उक्त प्रतिवेदनको आधारमा नगरपालिकाको सबै वडाको जग्गा कित्ताकाट खुलेको हो । कृषि, आवास, व्यवसायिक लगायत विभिन्न खण्डमा जग्गाको वर्गिकरण गरिएको छ । अब जग्गाको कित्ताकाट र उपयोगमा वर्गिकरण अनुसारको उपभोग र कित्ताकाटको क्षेत्रफलहरु तय हुनेछ।

कृषि क्षेत्रका रूपमा वर्गीकरण गरिएको जग्गाको कित्ताकाटको क्षेत्रफल नियमावलीले तोकेको छ । तराई र भित्रि मधेशको भए ६ सय ७५ वर्गमिटर भन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने छैन । यसबाहेक अरू ठाउँका कृषि जग्गा एक हजार वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइँदैन । त्यस्तै आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई एक सय ३० वर्ग मिटरभन्दा कममा कित्ताकाट गर्न पाइने छैन ।

पाँच सय वर्ग मिटरभन्दा सानो कित्ता भएको जमिनको हकमा चौडाइभन्दा लम्बाई चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न पाइने छैन । व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार तथा सार्वजनिक उपयोगका जग्गाको कित्ताकाटको क्षेत्रफलबारे भने नियमावलीमा उल्लेख छैन ।