July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

त्रिभुवन विश्वविद्यालयको बजेट साढे २६ अर्ब

 

काठमाडौँ —

त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८०/०८१ का लागि २६ अर्ब २४ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार कीर्तिपुरमा विश्वविद्यालय स्थापनाको ६४औं दिवसमा सभा बसेको थियो ।

सभामा रजिस्ट्रार पेशल दाहालले बजेट तथा कार्यक्रम प्रस्तुत गरे । बजेटमा विकास कार्यक्रमका लागि एक अर्ब र अनुसन्धानतर्फ ४१ करोड ६१ लाख छुट्टाइएको छ । अनुसन्धानका लागि विनियोजित रकम कुल बजेटको साढे १ प्रतिशत मात्रै हो ।

गत वर्ष त्रिविले अनुसन्धान केन्द्र, डिन कार्यालय, क्याम्पसमा अनुसन्धानका लागि ३८ करोड ७० लाख छुट्टाएको थियो । विश्वविद्यालय अनुदान आयोगसँग त्रिविले साढे १२ अर्ब माग गरेको छ । आयोगबाट १० अर्ब ८२ करोड मात्रै विनियोजन भएकाले एक अर्ब ६९ अर्ब ६९ करोड चालु खर्चका लागि अपुग हुने रजिस्ट्रार दाहालले बताए ।

त्रिविले एक अर्ब ४४ करोड आन्तरिक आय गर्ने लक्ष्य लिएको छ । सरकारले पर्याप्त रकम नदिँदा शिक्षक कर्मचारीलाई तलब सुविधासमेत उपलब्ध गराउन नसकेको उपकुलपति धर्मकान्त बाँस्कोटाले गुनासो गरे । दुई वर्षअघि सरकारको बजेटबाट वृद्धि भएको शिक्षक कर्मचारीको २ हजार तलब र गत वर्ष वृद्धि भएको १५ प्रतिशत रकम पनि उपलब्ध गराउन नसकिएको उनले जनाए । अर्थ मन्त्रालयले उक्त रकम नदिएको हो ।

बजेटबाट पदाधिकारी, प्राध्यापक कर्मचारीले त्रिवि शिक्षण अस्पतालबाट स्वास्थ्य उपचारलगायत पाउने विभिन्न सुविधा र भत्ता पनि कटौती गरेको छ । विदेश भ्रमण र गाडी खरिदमा रोक लगाइएको छ । अस्पताल र परीक्षामा काम गर्ने कर्मचारी, अध्यापकले मात्र अतिरिक्त सुविधा पाउने बजेटमा उल्लेख छ ।

अर्कोतर्फ त्रिविको बजेट र बेरुजु बराबरको अवस्थामा रहेको छ । २६ अर्ब ४९ करोड बेरुजु कायमै छ । ४ वर्षअघि २८ अर्ब ६७ करोड बेरुजु पुगेको थियो । त्यतिबेला बजेटभन्दा बेरुजु बढी थियो । यो अवधिमा १३ अर्ब बेरुजु सम्परीक्षणका लागि अनुरोध गरे पनि महालेखा परीक्षणको कार्यालयबाट ८ अर्ब मात्रै सम्परीक्षण भएको उनले बताए । सभाले ७७ हजार विद्यार्थीको ग्रेस लिस्टसमेत पास गरेको छ । सभामा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल, सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राई सहभागी थिए ।