May 22, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रधानमन्त्रीका आकांक्षीलाई रिजालको सुझाव- ‘प्रोजेक्ट प्राइममिनिस्टर’ हाललाई रोक्नुस्

मेरो वयका नेताहरूले रुखमा कसरी पालुवा लगाउने भन्नेमा ध्यान दिनुपर्छ। हिजोको नेतृत्वलाई अब सरक्क छोड्नुस्, म नेतृत्व लिन्छु भनेर हुँदैन। म पनि कांग्रेसलाई केही दिन्छु भनेर लाग्नु नै देश र पार्टी दुवैको हितमा छ।’

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले यस पटक प्रतिनिधि सभामा उम्मेदवार बन्ने अवसर पाएनन्। पार्टीको महामन्त्रीमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा दिएका उनी टिकटका आकांक्षी थिए। नेतृत्वसँग असन्तुष्ट देखिए पनि विभिन्न जिल्ला पुगेर कांग्रेस र गठबन्धनको पक्षमा प्रचार गरे। ४ मंसीरमा सम्पन्न आम निर्वाचनको प्रारम्भिक रुझान हेर्दा उनी अब सत्ता गठबन्धन धेरै नटिक्ने विश्लेषण गर्छन्। महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र महामन्त्रीमा पराजित भएका प्रदीप पौडेल लगायतको विजयलाई उनले कांग्रेस पुनर्जागरण गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँछन्। त्यसका लागि युवा नेताहरूलाई प्रधानमन्त्री बन्ने आकांक्षा एक-डेढ वर्ष स्थगित गर्न सुझाउँछन्। नेता रिजालसँग गरिएको निर्वाचन संवादः

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३०/४० स्थानको परिणाम आइसकेको छ। अहिलेसम्मको नतीजाले दिएको सन्देश के हो?

मूलधारका राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतलाई जनतामा असन्तुष्टि छ भन्ने सन्देश हो यो। जनताको मतबाट सत्ता परिवर्तन हुने सम्भावना निमिट्यान्न पारेर सरकार बनाउने प्रवृत्ति नेपालमा शुरू भयो। त्यस्तो प्रयोग २०७४ सालमा वाम गठबन्धन मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए भने यस पटक कांग्रेसको अगुवाइमा भयो। अघिल्लो निर्वाचनमा ओलीजीको प्रयोग सफल भयो, तर यो गठबन्धन त्यति वेला जत्तिको सफल होला जस्तो छैन। जनतामा निराशा थियो, अहिले झनै चुलियो।

तीन वर्ष सरकार चलाउँदा केही पनि गर्न नसकेका ओलीजीलाई प्रतिस्थापन गरेपछि हामीले पनि नयाँ आशाको सञ्चार गर्न सकेनौं। समानुपातिकमा एमालेले ३० प्रतिशत र कांग्रेसले २५ प्रतिशत हाराहारी मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १५/१६ प्रतिशत पाउने देखिन्छ। सम्भवतः अन्तिमसम्म पनि त्यही होला। अन्य दल त्यसको छेउछाउ पनि पुग्ला जस्तो देखिँदैन। मूलधारका दललाई मतदाताले अझै पनि तपाईंहरूसँग सच्चिने समय छ भन्ने सन्देश दिएका छन्। तर यसबाट नेतृत्वले के शिक्षा लिन्छ, थाहा छैन।

सत्ता गठबन्धनमा सहभागी चार-पाँच दलले गत स्थानीय निर्वाचन र २०७४ को आम चुनावको परिणाम जोडेर हेर्दा अन्य दललाई जित्न हम्मे पर्ने देखिन्थ्यो। सत्तारुढ दलका नेताहरूले पनि ‘क्लिन स्विप’ गर्छौं भन्ने गरेका थिए। तर अपेक्षा गरे जस्तो परिणाम आएन होइन?

मलाई चुनाव अगाडि नै गठबन्धन सफल नहोला भन्ने लागेको थियो। तर, कांग्रेसको मान्छे भएको हुनाले चुनावअघि धेरै ठूलो स्वरमा भन्न मिल्दैनथ्यो। सत्ता गठबन्धनको भोट जोडेर हेर्दा प्रत्यक्षमा १३६ सीट सहज रूपमा आउने देखिन्थ्यो। तर, त्यसमध्येका ४८ क्षेत्र त्यस्ता थिए, जहाँ सानो दलका उम्मेदवारलाई धेरै मत दिनुपर्ने अवस्था थियो। ९५/९६ प्रतिशतसम्म अर्को दलको मत चाहिन्थ्यो। कांग्रेस एक्लै लडेको भए ७७ सीट आउने थियो। गठबन्धन गर्दा पनि कांग्रेसले सबैभन्दा कम क्षति व्यहोर्छ, ५८/५९ क्षेत्रमा जित्छ भनेको थिएँ।

राजनीतिमा धेरै कृत्रिमतालाई पनि मतदाताले रुचाउँदैनन्। कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाको गठबन्धनलाई जनताले कृत्रिम नै ठाने। सत्तामा बसेका अन्य दलसँग मिल्दै नमिल्ने अजेण्डा बोकेर जनमोर्चा हिंडेको छ। जनमोर्चाले एक सीट त जित्ने भयो, तर जनताले त्यसलाई कृत्रिम नै माने। २०७४ मा ओलीजीले गठबन्धन गर्दा कम्युनिष्ट-कम्युनिष्ट भनेर नारा लगाउन अलि सजिलो भएको थियो। तर सफल भएन, अन्ततः तीन टुक्रामा विभाजित भयो। अर्थात् त्यसलाई पनि कुनै न कुनै रूपमा कृत्रिम नै मानियो।

महत्त्वाकांक्षा त हुनुपर्छ, तर त्यो आधारसहितको हुनुपर्छ भन्ने सन्देश जनताले दिएका हुन् भन्ने लाग्छ।

माओवादीलाई यो निर्वाचनबाट जनताले दिएको सन्देश के हो?

२०६४ सालको चुनावमा २४० मध्ये १२० ठाउँमा माओवादीले जितेको थियो। कांग्रेस र एमालेको जोड्दा पनि नपुग्ने सभासद संख्या लिएर संविधानसभामा उपस्थित भयो। त्यसलाई उनीहरूले माओवादी सशस्त्र विद्रोहको अनुमोदनको रूपमा व्याख्या गरे। नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ भन्ने शब्दावली प्रयोग गरे। ‘माओवादी सिद्धान्तको आधारमा नयाँ क्रान्तिको खोजी भएको थियो, त्यसको नेतृत्व हामीले गर्‍यौं, अब संसदीय फाँटमा गएर त्यसको उपयोग गर्छौं’ भनेका थिए। १५ वर्ष पछाडि फर्केर सिंहावलोकन गर्दा जनताले माओवाद खोजेको होइन रहेछ।

त्यो त मूलधारका दलहरूप्रतिको वितृष्णा मात्रै रहेछ भन्ने प्रष्ट भयो। जसरी आज विकल्प खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टी आयो, त्यसरी नै हिजो विकल्प खोज्दा मात्रै मतदाताले माओवादी रोजेका रहेछन्। मूलधारका पार्टीलाई सन्देश दिन खोजेको रहेछ। २०७० को चुनावमा मतदाताले फेरि मूलधारकै पार्टीलाई भोट दिए। संविधान बन्यो। त्यति वेला माओवादी तेस्रो शक्ति बनेको थियो। २०७४ सालमा स्थिर सरकार मार्फत समृद्धि ल्याउन भनेर जनताले मत दिए। तर, जनताको यो सन्देश पनि बुझ्न सकेन।

 

२०७४ र २०७९ को निर्वाचन गठबन्धन विनै लडेको भए माओवादी यो भन्दा सुदृढ हुन्थ्यो कि कमजोर?

२०७४ सालमा स्थानीय निर्वाचनको परिणामको आधारमा मैले माओवादीले जित्ने सीटको विश्लेषण गरेको थिएँ। म पार्टीको महत्त्वपूर्ण भूमिकामा भएकाले बाहिर सार्वजनिक गरिनँ। त्यो दस्तावेजमा माओवादीको १५ सीट पनि नपुग्ने निष्कर्ष थियो। सबै दल एक्लाएक्लै लडेको भए एमाले सबैभन्दा ठूलो दल हुन्थ्यो। माओवादीको १२/१३ सीट आउँथ्यो। तर, माओवादी एक्लै लड्दैन भन्ने मेरो पनि निष्कर्ष थियो। यो माओवादीको साढे १८ प्रतिशत मत हुँदाको कुरा हो, अहिले ऊसँग साढे १२ प्रतिशत मात्रै मत छ। यो चुनावमा एक्लै लडेको भए उसले ७/८ सीटभन्दा बढी जित्ने थिएन।

२०६४ सालमा ‘राष्ट्रनायक’ भन्दै हिंडेका प्रचण्डजी अहिले कांग्रेसको रथ चढेर प्रधानमन्त्री बन्ने राजनीति ठीक छ भनेर हिंडिरहनुभएको छ। मैले बोल्दा छुचो होला, तर उहाँको हातबाट नेपाली राजनीति फुत्किँदै गएको छ। फुत्किँदै गएपछि एक पटक कुनै तरिकाले सत्ताको नेतृत्वमा पुग्नुपर्छ भन्ने बाटो समात्न पुग्नुभएको हो।

एमाले विभाजन भएका वेला कांग्रेस एक्लै चुनाव लडेको भए पनि पहिलो पार्टी त बन्थ्यो होइन?

एक्लाएक्लै चुनाव लडेको भए कांग्रेसले ७७ र एमालेले ७१ स्थानमा जित्ने थियो। समानुपातिकमा ४२ सीट सहित कांग्रेसको ११९ सांसद हुने थिए। गठबन्धन गर्दा कांग्रेसको ११९ सीटभन्दा बढी हुन्छ कि हुँदैन भनेर नेताहरूलाई सोधेको थिएँ। प्रत्यक्ष र समानुपातिक दुवैमा कांग्रेसले गठबन्धनको मूल्य चुकायो।

कांग्रेसलाई यही वेला पुनजागृत गर्न आवश्यक छ। महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका गगन थापा, विश्वप्रकाश शर्मा मात्रै होइन, प्रदीप पौडेल पनि जितेर आएका छन्। उहाँहरूलाई मेरो एउटा मात्रै सुझाव के छ भने-अहिलेसम्म पार्टीमा पहिलो पुस्तादेखि मूल नेतृत्व गरेको पुस्ताको आर्जनबाट बनेको पार्टीमा सरक्क गएर म यो पार्टीको नेतृत्व गर्छु भन्नुको सट्टा एक-डेढ वर्ष पार्टीलाई पुनजागृत गर्न लाग्नुस्। एक-डेढ वर्ष ‘प्रोजेक्ट प्राइमिनिस्टर’ रोकेँ भन्नुस्।

मेरै बुताले बनाएको पार्टीबाट प्रधानमन्त्री बन्छु भन्नुस्। यो देश, पार्टी र लोकतान्त्रिक आन्दोलनका लागि पनि राम्रो हुन्छ। उहाँहरूसँग समय पनि छ। म सरक्क गएर सरकारको नेतृत्व गर्छु भन्नुभन्दा पनि जनताले मलाई पत्याइसके, म पनि केही आर्जन गर्छु भन्नेतर्फ लाग्नुपर्छ। बीपी कोइराला त्यसरी नै नेता बन्नुभएको हो। उहाँले २००७ सालको क्रान्ति गर्नुभयो। त्यसपछि सात-आठ वर्ष पार्टी निर्माणमा लाग्नुभयो।

तपाईं ‘प्रोजेक्ट प्राइमिनिस्टर’ केही समय रोक्न सुझाव दिंदै हुनुहुन्छ। कांग्रेसमै ६÷७ जना प्रधानमन्त्रीका दाबेदार छन्। पार्टीले कसरी व्यवस्थापन गर्छ?

मलाई छुचो भयो नभन्नुहोला, पाका नेताहरू अस्तित्व जोगाउने उपायमा लागेका छन्। मेरो समय सकिन थाल्यो, यही वेला प्रधानमन्त्री बनिहाल्नुपर्छ भन्ने चिन्ता देखियो। यसलाई म अनपेक्षित महत्त्वाकांक्षा बन्न रुचाउँछु। मेरो वयका साथीहरू अब पालो मेरै हो भन्न लागे। म यस्तो वंश परम्पराको प्रतिनिधित्व गर्छु भनेर लागेको देखिन्छ। ९१ सीट लिएर लडेको छ। गठबन्धनको बहुमत पनि पुग्ला रे। यही पार्टीमा खेलेर प्रधानमन्त्री बन्छु भनेर नलाग्नुस्। कांग्रेसले चुनाव नलडेका ७४ क्षेत्रका जनता तथा कार्यकर्ताको मनमा के छ, त्यो बुझ्ने प्रयास गर्नुस्।

मूल नेतृत्वमा भएका चार-पाँच नेता लामो समयदेखि पार्टी निर्माणमा लागेरै आउनुभएको हो। तर, उहाँहरू पनि आफ्नो अस्तित्व जोगाउनै केन्द्रित देखिनुहुन्छ। त्यसैको परिणति हो- प्रचण्डजी, माधवजी, उपेन्द्रजी, महन्थजी वा चित्रबहादुरजीलाई साथमा लिएर आफैं सरकारको नेतृत्व गरौं भन्ने सोच।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण, राप्रपाको मत आदि हेर्दा पनि मूलधारका पार्टीमा पुनर्जागरण आवश्यक छ भन्न खोज्नुभएको हो?

हो। रवि लामिछानेले निराशाबीच विकल्पका रूपमा उभिएर विश्वास जितेको देखियो। त्यही काम हिजो बाबुराम भट्टराई, रवीन्द्र मिश्रले गर्न सक्नुभएन। त्यो विकल्प बन्छु भन्दाभन्दै उज्ज्वल थापा बितेर जानुभयो। यो चुनावमा बधाई दिनुपर्ने कोही छ भने रवि लामिछाने नै हो। तर, उहाँको जिम्मेवारी पनि बढेको छ। विगतमा जस्तै पानीको फोका बनेर फुट्ने हो कि? पहिरो नै ल्याएको माओवादी पनि त आज यो हालतमा पुगिसकेको छ। त्यसैले रवि लामिछानेले सोचविचार गरेर अगाडि बढ्ने वेला हो।

सत्तारुढ दलका नेताहरूले चुनाव अघि कम्तीमा २०/२५ वर्ष गठबन्धन रहनुपर्छ भनेका थिए। अब गठबन्धन के होला?

नेताहरू कसले के भन्नुभयो उहाँहरूले व्याख्या गर्नुहोला। तर, गठबन्धनबारे यति प्रष्ट जनादेश आइसकेको छ, यसमा मैले भनिरहनै पर्दैन। २७५ सदस्यीय संसद्‌मा १३८ म्याजिक नम्बर नपुग्ने संभावना पनि छ। म बोल्दा चुनाव लड्न नपाएको कुण्ठा भन्ने अर्थ लाग्ला। २०/२५ वर्षसम्म गठबन्धन भनेकाले आत्तिएर मत हालेनन् कि? ‘लाल सलाम भनेकै जय नेपाल हो, जय नेपाल भनेकै लाल सलाम हो’ भनेको सुन्दा मलाई त संकोच हुन्थ्यो। मतदातालाई झन के भयो होला?

अबको राष्ट्रिय राजनीतिबारे तपाईंको सुझाव के छ?

गठबन्धनमा तानतुन गरी बहुमत पुर्‍याएर सरकार बन्छ कि बन्दैन भन्ने धेरै महत्त्वपूर्ण कुरा होइन।

कांग्रेसको मूल नेतृत्व कता जान्छ त्यो खासै महत्त्वपूर्ण होइन। मेरो वयका नेताहरूले रुखमा कसरी पालुवा लगाउने भन्नेमा ध्यान दिनुपर्छ। हिजोको नेतृत्वलाई अब सरक्क छोड्नुस्, म नेतृत्व लिन्छु भनेर हुँदैन। म पनि कांग्रेसलाई केही दिन्छु भनेर लाग्नु नै देश र पार्टी दुवैको हितमा छ। यो रुखले नयाँ पालुवा हाल्ने वेला हो। कांग्रेसमा नयाँ वसन्त ल्याउने कि हिजो बाँकी रहेको पूँजी प्रयोग गरेर प्रधानमन्त्री मात्रै बन्ने, यो कुरा गगन, विश्वप्रकाश र प्रदीप पौडेलहरूको हातमा छ।

https://www.himalkhabar.com/news/133177