July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कवि ढकालको कविताकृति ‘अन्तरमनको झङ्कार’ लोकार्पित

 

काठमाण्डौ२०८० असार १४, बिहीबार

कवि भैरव ढकालको कविताकृति ‘अन्तरमनको झङ्कार’को आज लोकार्पण गरिएको छ।

प्रा.डा. खेम कोइराला बन्धुको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन योग प्रशिक्षक लेखनाथ पन्तले स्वस्ति वाचन गरेर गर्नुभएको थियो ।

प्रमुख अतिथि बन्धुले धेरै अगाडि आफू सम्पादक रहेको ‘नौलो नेपाली’ मासिक पत्रिकामा रचना प्रकाशित गर्नुभएका कवि ढकालले धेरैपछि मात्र कविताकृति ल्याए पनि अब अरु कृति भने समयमै आउने आशा गर्नभयो ।

उहाँले गर्नेभन्दा गराउने ठूलो हुने भन्दै कृतिका सम्पादक कृष्ण बाउसेको पनि प्रशंसा गर्नभयो । उहाँले महाभारतको प्रसंग जोड्दै कृष्णले कहिले पनि युद्ध आफ्ना कारणले जितेको नभइ युधिष्ठिर र अर्जुनले जितेको भने झैं सम्पादक कृष्ण कृष्णको भूमिका रहेको बताउनुभयो ।

विशिष्ट अतिथि तथा अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकालीले हामी हतारमा लेख्छौँ, हतारमा छाप्छौँ तर, कवि ढकालले भने ५० वर्ष लगाएर कृति तयार गरेको बताउनुभयो ।

उहाँले कृति छाप्ने कुरा ठूलो नभएको बरु राम्रो सम्पादकलाई सम्पादन गराएर कृति लिएर आउँदा विश्व बजारमा लान पनि सजिलो हुने बताउनुभयो ।

प्रकाशित कृतिमा कविता लेखिएको ठाउँ र साल पनि भएको भए समालोचकलाई समीक्षा गर्न अझ सजिलो हुने पनि बताउनुभयो ।

शिक्षासेवी यशोदा भट्टराईले अमेरिकामा रहने कविले उतै कृति लोकार्पण नगरेर यता आएर गर्नुमा स्वदेश प्रेम देखिएको बताउनुभयो ।

कार्यक्रमको अतिथिको रुपमा साहित्यकार हिरण्यकुमारी पाठक, विजयध्यज थापा, गणेश पोखरेल, यशोदा भट्टराई पोखरेल, प्रा.डा. गोविन्दमान सिंह कार्की, प्रा.डा. नरेन्द्र ढकाल, कवि ठाकुर शर्मा आदिको उपस्थिति  रहेको थियो ।

कार्यक्रमका सभापति उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले प्रकाशित कृतिमा केही उत्कृष्ट र केही परिमार्जन गर्नुपर्ने कविता रहेकाे बताउनुभयाे ।

कार्यक्रममा विभिन्न कविहरुले कृतिमा रहेका कविता वाचन गर्नुभएको थियो ।