July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आगामी सरकारको नेतृत्व कसले गर्छ भन्ने टुंगिएको छैन : प्रचण्ड

गोरखा

 गोरखा २ का उम्मेदवार तथा गठबन्धन दलका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल सुरु नभएको बताएका छन्।

 

चुनावी कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रचण्डले शुक्रबार पत्रकारहरूसित कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।

‘सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धनभित्र अहिलेसम्म छलफल भएको छैन’, उनले भने, ‘साथीहरूले सम्भावित प्रधानमन्त्री पनि हो उहाँ भनिरहनु भएको छ। सम्भावित म होइन त किन भन्थेँ र सम्भावित त हो। देशको नेतृत्व गर्ने अवसर आयो भने त्यो जिम्मेवारीबाट पन्छिने मेरो कुरा छैन। तर प्रधानमन्त्रीकै निम्ति मरिहत्ते हाल्ने मान्छे म होइन भन्ने कुरा पनि मैले पटक पटक सिद्ध गरेको छु।’

चुनाव प्रचार प्रसारका क्रममा कसैलाई भोलिका प्रधानमन्त्री, कसैलाई मुख्यमन्त्री, कसैलाई मन्त्रीको रूपमा उभ्याइए पनि किटेर भने नभनिएको उनले बताए।

यो चुनाव प्रतिगमन र अग्रगमन बीचको संघर्ष भएको उनको भनाइ छ।

‘तपाईहरू देख्न सक्नुहुन्छ कि, यो गठबन्धनको एकातिर बाह्रबुँदे समझदारीका हस्ताक्षरकर्ता, विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संविधान निर्माणमा अहम भूमिका खेल्ने नेताहरू छन्। अर्कातिर आजसम्म प्राप्त गरेको राजनीतिक उपलब्धी उल्ट्याउन चाहनेहरू बीचको गठबन्धन छ। नेपालमा गणतन्त्र आउँछ भन्नु र गोरुगाढा चढेर अमेरिका पुगिन्छ भन्नु उस्तै हो भन्नेहरू हाम्रा प्रतिस्पर्धामा छन्।’

यो देशमा लामो समयदेखिको संघर्षपछि बनेको संविधान, आन्दोलनका उपलब्धी, शान्ति, लोकतन्त्र, गणतन्त्रको रक्षा गर्न गरिएको यो गठबन्धन नै प्राकृतिक गठबन्धन भएको उनले बताएका छन्।

चुनावी अभियानमा गोरखा आएका प्रचण्डले यसअघि गोरखा नगरपालिकाको एंकोट, रानिटार, छेपेटार, आहाले र ठूलो आँगनमा चुनावी सभालाई सम्बोधन गरेका थिए।

सो क्रममा उनले गोरखा नगरपालिकामा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने, अलमलमा रहेको बूढीगण्डकी जलाशय युक्त आयोजना निर्माण आरम्भ गर्ने, बेनिघाट, लार्के सडक निर्माणको बाँकी काम टुंगोमा पुर्‍याउने, पालुङ्टार एयरपोर्टलाई पुनः सञ्चालन गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका थिए।