July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मेयर बालेनले काम गर्न नदिएको ‘क्यान्सर सर्भाइभर’ महिला कर्मचारीको आरोप

काठमाडौँ,०८० फागुन १६

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आठौँ तहका एक महिला कर्मचारीले आफूलाई काम गर्न नदिएको बताएकी छन् । बुधबार महानगरपालिका कर्मचारी सस्मिता घिमिरेले फेसबुकमा स्टाटस लेख्दै लामो समय देखि मेयर बालेनको प्रशासनले बिना कारण र किन कार्य जिम्मेवारीविहीन बनाएको भनेर उल्लेख गरेकी छन् ।

‘जान्ने बुझ्ने मौका समेत नदिई कामविहीन बनाएर कार्यालय जाँदा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएकाले बाध्य भएर कानुनी र पेशा गत हक,अधिकारका लागी बाहिर निस्कनु परेको छ,’ उनले भनेकी छन् ।

कर्मचारीलाई राइट म्यान इन राइट प्लेस अनुसार कार्य जिम्मेवारी दिई काममा लगाउनु पर्नेमा कर्मचारीलाई पूर्वाग्रही व्यवहार गरिएको घिमिरेको भनाइ छ । ‘कार्यालय जाँदा बस्ने ठाउँ समेत नदिई स्थायी कर्मचारीलाई कामै गर्न नदिनु कति न्यायोचित होला?’ उनले प्रश्न गरेकी छन् ।

क्यान्सर सर्भाईभर बाँचुन्जेल राष्ट्रको सेवा गर्छु ,काम गर्छु, काम गर्न सक्षम छु मेरो स्वास्थ्य संवेदनशीलता समेतलाई ध्यान दिएर हतोत्साही नगराउन पनि उनले आग्रह गरेकी छन् । कामको जिम्मेवारी दिन भनेर प्रमुख प्रशासकीय अधिकृत , कामपा प्रशासन प्रमुख महेस काफ्ले, दिपक अधिकारी सर , प्रशासन महाशाखा प्रमुख सरिता राईसँग गएर पटक पटक अनुनय विनय गर्दा अहिले कामै गर्न नदिने भन्ने जानकारी पाएको उनले बताएकी छन् ।

काम नगरी भर्‍याङ वा घरमा बस्न बाध्य पारिएको उनको भनाइ छ।  घरमा बस्दा अफिसबाट छड्के हुने र जागिरबाट नै बर्खास्त गर्ने डर त्रास रहेको उनले उल्लेख गरेकी छन् । अहिले काठमाडौं महानगरमा कर्मचारी हरेक दिन यस्तै कार्यले पीडित बन्दै गएको उनले जानकारी दिएकी छन् ।

‘प्रशासनमा चरम राजनीतिकरण हुँदा सानो त्रुटि र कमजोरी हुनासाथ सामान्य सजाय नगरि एकै पटक जागिरबाट हटाइदिने त्रासले ठूलो आतंक सिर्जना भएको छ,’ उनले थपेकी छन् ।

त्यसैगरी, यस विषयमा बुझ्न खोज्दा  काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कुनै पनि कर्मचारीले मलाई काम गर्न दिएन भनेर समस्या लिएर नआएको बताए । ‘महानगरमा धेरै कर्मचारी छन् । म सबै कर्मचारीलाई चिन्दिन । सबै कर्मचारीले काम गरिरहेका छन् । यस विषयमा मलाई थाहा छैन ,’ उनले भने  । इकागज