July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मधेशमा कांग्रेसले ल्यायो संकल्पपत्र, मधेश समृद्धिका १० मुख्य अजेन्डा प्रस्तुत [पूर्णपाठ]

काठमाडौं,कात्तिक २०, २०७९ 

 मधेश प्रदेशमा सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेसले चुनावी घोषणापत्र (संकल्पपत्र) सार्वजनिक गरेको छ। आइतबार जनकुरधाममा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस मधेश प्रदेश कार्यसमितिका सभापति कृष्णाप्रसाद यादव, संकल्पपत्र तयारी समितिका संयोजक वृहस्पति कृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो।

उक्त घोषणापत्रले कांग्रेस नेतृत्वमा बन्ने प्रदेश सरकारले आगामी ५ वर्षभित्र गर्ने मुख्य १० काम र प्राथमिकताको सम्बन्धमा चर्चा गरिएको छ। घोषणापत्रमा लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा तथा खेलकुद विकास, दलित जनजाति मुस्लिम तथा पिछडावर्ग उत्थान, अन्तरप्रदेश सम्बन्ध र प्रदेश र संघबीचको सम्बन्धमा विशेष जोड दिइएको छ।

घोषणापत्रले केही लोकप्रिय कार्यक्रमसमेत अघि सारिएको छ। सुशासनअन्तर्गत प्रत्येक महिना मुख्यमन्त्री जनता दरबार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।
‘सबैको साथ, सबैको विकास’ भन्ने नारालाई अघि सारेर पूर्वाग्रहरहित सरकार सञ्चालनको सोंच घोषणापत्रमा उल्लेख गरिएको छ।

आर्थिक विकासअन्तर्गत कृषि उत्पादन अभिवृद्धि गर्न निब्र्याजी ऋणको व्यवस्था गर्ने लोकप्रिय कार्यक्रम अघि सारिएको छ। ‘घरघर खाद्य, खेतखेत सिँचाइ’ भन्ने नारा अघि सार्दै घोषणापत्रमा ग्रामिण कृषि सडक, सिँचाइ, बीउबीजन, कोल्डस्टोर निर्माणलाई प्राथमिकता दिइएको छ। ७० वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि किसान पेन्सनको व्यवथा गर्ने संकल्पपत्रमा उल्लेख गरिएको छ।

साथै, पाँच वर्षको अवधिमा हाल ६०० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आयलाई १५०० डलर पुर्याउने लक्ष्यसमेत घोषणापत्रमा लिइएको छ। जनकपुर चुरोट काराखानालाई विद्युतीय चुल्हो कारखानाको रुपमा विकास गर्नेसमेत प्रतिबद्धता व्यक्त गरिएको छ। आगामी सरकारले वीरगञ्ज–ठोरी, वीरगञ्ज–पथलैया, जनकपुर–ढल्बेवर र गोलबजार–लहानमा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने योजना बनाइएको छ।

भौतिक पूर्वाधारअन्तर्गत पानी बिजुली र सञ्चारको पहुँच सबै घरमा पुर्याउने, काठमाडौं–निजगढ फास्ट्रयाक निर्माणमा तीव्रता दिन पहल गर्ने, रेल सेवालाई विस्तार गरी राजविराजदेखि वीरगञ्जसम्म पुर्याउने, प्रदेशका सबै विमानस्थलको स्तरोन्नति गर्ने तथा निजगढ विमानस्थल बनाउन पहल गर्ने उल्लेख गरिएको छ।

मधेशको सारक्षरता अभिवृद्धि तथा व्यवसायिक शिक्षाको प्रवद्र्धन गर्न यो अवधिमा मधेशभित्र इञ्जिनियरिङ, चिकित्सा, नर्सिङ, कानून र ललितकलाका सरकारी कलेज स्थापना गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा घोषणपत्रले ५ वटा नाराहरूसमेत अघि सारेको छ। स्वास्थ्य क्षेत्रअन्तर्गत एम्बुलेन्स, अस्पताल तथा आयुर्वेद अस्पताल निर्माण गरिनेसमेत जनाइएको छ।

घोषणापत्रले ८० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य सुविधा दिन भनेको छ। यसअघि, केन्द्रीय घोषणापत्रले ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भनेको थियो।

घोषणापत्रले संघीय सरकारसँगको सम्बन्धलाई मजबुत बनाउँदै नागरिकतासम्बन्धी समस्या, प्राकृतिक स्रोतको बाँडफाँटसम्बन्धी समस्या समाधान गर्ने तथा जनसंख्याको आधारमा मधेशमा बजेट वृद्धि गर्न पहल गर्ने उल्लेखसमेत गरेको छ।

घोषणापत्रमा सबै जनताको आफ्नै घर, राम्रो शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था, स्वच्छ खानेपानी, विजुली, सर्वसुलभ यातायात, सुरक्षा तथा सम्मान, सर्वसुलभ सञ्चार उपलब्ध भए मात्रै प्रदेश समृद्ध समुन्नत र सुखी हुने कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितिशकुमार गुप्ता जनाएका छन्। नेपाल लाइभ

हेरौं पूर्णपाठ: