September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

तराईमा बोरिङको भरमा रोपाइँ

धनगढी, असार १२ गते ।

 कैलालीका किसानले बोरिङको भरमा रोपाइँ सुरु गरेका छन् । मनसुन भित्रिए पनि पर्याप्त वर्षा नभएपछि बोरिङ गरी तानेको पानीको भरमा रोपाइँ गर्न थालेको स्थानीय किसानले बताएका छन् ।

मध्य असार हुनै लाग्दा पनि खेतीपातीका लागि पर्याप्त पानी परेको छैन । विगतमा यो बेलासम्म हरियो देखिने खेत यस वर्ष सुक्खाले धुलाम्मे छन् । खेतीपातीको बेला भइसकेकाले पानी नपरेपछि बोरिङको पानीको भरमा रोपाइँ गर्न थालेको धनगढी उपमहानगरपालिका–८ का कृषक फिरङ्गी रानाले बताउनुभयो । “यत्तिका दिनसम्म आकासे पानीको पर्खाइमा बसेका थियौँ,” राना भन्नुहुन्छ, “तर अहिलेसम्म पानी परेन । बोरिङले सिंचाइ गरेर रोपाइँ थालेका छौंँ ।”

कैलालीको ग्रामीण क्षेत्रका किसान बोरिङकै भरमा धमाधम रोपाइँ गरिरहेका छन् । धान रोपेको खेतमा सुक्खाका कारण धाँजा फाट्न थालेको छ । गाउँका प्रायः सबै किसान खेतीपातीको काममा व्यस्त भइसकेको कैलारी गाउँपालिका–७ का कृषक रवीन्द्र चौधरीले बताउनुभयो ।

उहाँले बोरिङकै भरमा यस वर्षको आधा रोपाइँ सकिसकेको जानकारी दिनुभयो । “पानी परेपछि अब धेरै दिन लाग्दैन, चाँडै रोपाइँ सक्छौँ,” कृषक चौधरीले भन्नुभयो, “अहिलेसम्म बोरिङको भरमा मात्रै रोपाइँ भइरहेको छ । बोरिङबाट पानीसमेत कम आउन थालेको छ ।”

कतिपय किसान पानीको पर्खाइमा बसेकाले अझै रोपाइँ सुरु गर्न सकेका छैनन् । रोपाइँका लागि खेत खनजोत गरेर तयार पारेका छन् । पानी नपरेकाले अहिलेसम्म रोपाइँ सुरु नगरेको धनगढी गाउँका कृषक सन्तराम रानाले बताउनुभयो । “ब्याड तयार छ तर पानी नपरेका कारण रोपाइँ सुरु गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका अनुसार कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको कैलालीमा ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गर्ने गरिएको छ । जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिकाका कतिपय किसानले चैते धान खेती गर्ने गरेका छन् ।    गोरखापत्र अनलाइन