मंसिर २७।
बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ-१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनका अनुसार बिनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए ।
उनीहरूले मेयरको गाडीमा तोडफोड गरे । त्यहीबेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबीच धकेलाधकेल भएको थियो, प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो । तर पछि आन्दोलनकारीहरूले थप दबाब बढाएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन टियर ग्यास र हवाई फायर गरेको एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए ।
‘प्रहरीले २०–२५ राउन्ड टियर ग्यास र हवाई फायर गर्यो । अहिले स्थिति नियन्त्रणमा छ,’ एसपी काफ्लेले भने । आन्दोलनकारीको ढुंगा प्रहारबाट १० प्रहरी घाइते भएका छन् ।
आन्दोलनका कारण दुई महिनायता नगरपालिकाबाट नियमित सेवा प्रवाह हुन सकेको छैन । मेयर साहसमेत नियमित नगरपालिका जाने गरेका थिएनन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत थिएनन् ।
बुधबार मेयर साहले एक साताअघि मात्रै पचरौता नगरपालिकाबाट सरूवा लिएका प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गराउन नगरपालिका पुगेका थिए । मेयर साह लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुन् । तर नगरसभामा नेपाली कांग्रेसको बहुमत छ । यसअघि मेयर साहले नगरसभा सम्पन्न भएको भनेर सार्वजनिक गरे पनि कांग्रेसका जनप्रतिनिधिहरूले भने नगरसभा नभएको भन्दै विरोध जनाउँदा विवाद उत्पन्न भएको हो ।
जनप्रतिनिधिको विवादले नगरपालिकाको काम कारबाही प्रभावित हुँदा कर्मचारी र शिक्षकहरू पनि आन्दोलित बनेका छन् ।
More Stories
भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई प्रभु साहको निर्देशन
फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी
धरहरीकाे राधाकृष्ण मन्दिर आकर्षणकाे केन्द्र बन्दै असार ३१मा प्राण प्रतिष्ठा