July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सल्यानको कुमाख गाउँपालिकाले ल्याउन सकेन बजेट, गाउँसभा पनि अनिश्चित

 

सुर्खेत, असार २७, २०८०

१० असार १० भित्रमा बजेट ल्याउनुपर्ने भए पनि सल्यानको कुमाख गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेको छैन । पालिकाले २५ असारमा कार्यपालिकाको बैठक आह्वान गरे पनि बैठकले गाउँसभाको मितिसमेत तोक्न नसकेको हो ।

कार्यपालिकाका सदस्यहरूले पालिका नेतृत्व गतिविधिमा प्रश्न गर्दै बैठकमा असहमति जनाएपछि कुमाख गाउँपालिकाको गाउँसभा सञ्चालनको समेत कुनै टुंगो लागेको छैन । कार्यपालिका बैठकबाट बजेटसमेत पारित भएको पनि छैन ।

कुमाख गाउँपालिका–१ का वडाध्यक्ष डिल्लीबहादुर रानाले भने, ‘पालिका नेतृत्व गर्नेहरूले मनोमानी रूपमा काम गर्नुभएको छ । कार्यपालिका बैठकलाई नै नटेर्ने गरेपछि हामीले असहमति जनाएका थियौँ ।’ २०७९-८० मा प्राविधिक शिक्षा छात्रवृत्ति, अध्यक्ष कप खेलकुद, माध्यमिक विद्यालयमा दरबन्दी सिर्जनालगायतका विषयमा पालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले एकाधिकारसहितको गतिविधि सञ्चालन गरेको उनको आरोप छ ।

यसअघिको कार्यपालिका बैठकमा समेत वडाध्यक्ष रानालगायतका कार्यपालिका सदस्यहरूले असहमति जनाएपछि गाउँसभाको मितिसमेत तोक्न सकिएको छैन । ‘हामीले समीक्षा गरौँ भनेका थियौँ । यो वर्षमा भएका कार्यक्रमको समीक्षा गर्नुपर्छ’, वडाध्यक्ष रानाले भने, ‘हाम्रा काम राम्रा पनि भएका होलान् । बिग्रिएका पनि होलान् । सकारात्मक वा नकारात्मक दुवै जे भए पनि समीक्षा हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

पालिका अध्यक्षलगायतले कार्यसम्पादन समीक्षा गर्न नमानेपछि आफूहरूले असहमति जनाएको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कार्यपालिकाबाट सभामा बजेट पेस गर्नुपर्ने हुन्छ । पालिकाको राजस्व र व्ययको अनुमानित बजेट कार्यपालिकाबाट स्वीकृत गराई सभामा पेस भएपछि त्यहाँ छलफल गर्ने कानुनी व्यवस्था छ ।