असार २७, २०८०
नेपाल वायुसेवा निगमको उडानबाट आज बिहान भारतको मुम्बई जान ठिक्क परेका यात्रुलाई दिनभर ज्ञानेश्वरमा राखिएको छ । बिहान साढे ११ बजेको आरए २०१ को उडानमा मुम्बई जान लागेका उनीहरु बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
तर, लगेज काउण्टरमा चेक इनको क्रममा उडान ढिलो भएको खबर पाएपछि होहल्ला गरेका कारण उनीहरुलाई ज्ञानेश्वरको होटल राजस्थानमा पुर्याइएको बताइन्छ । सोही उडान आज साँझ ७ बजेलाई तय गरिएको निगमले जनाएको छ ।
जहाजमा प्राविधिक समस्या देखिएकाले उडान ढिलो भएको निगमको दाबी छ । तर, केही यात्रुले अनावश्यक हल्ला गरेपछि होटल लगेर राखिएको निगम स्रोतले बतायो । विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेसम्ममा १०९ जना यात्रुको चेक इन भइसकेको थियो ।
तर, निगमका कर्मचारीहरुले गैरजिम्मेवारपूर्ण जवाफ दिएकाले आफूहरु विरोधमा उत्रनु परेको यात्रुहरुको भनाई छ । ‘मान्छेको त ग्यारेन्टी हुँदैन, उडानको के ग्यारेन्टी’ भनेपछि उनीहरु रिसले आगो भएका थिए ।
चेक इन प्रक्रिया पूरा भए पनि ती यात्रुको अध्यागमन प्रक्रिया पूरा नभएको बताइन्छ । तर पनि उनीहरुको सुविधाको लागि बिहान सवा १० बजे होटलमा लगेर राखिएको निगमको दाबी छ । सोही उडान राति ७ बजे काठमाडौंबाट मुम्बईतर्फ हुने बताइएको छ ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार