July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अतिक्रमित संरचना तत्काल हटाउन सडक डिभिजनको आग्रह

 

हेटौंडा

डिभिजन सडक कार्यालय हेटौंडाका डिभिजन प्रमुख राजेश कुमार यादवले सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर टहरा घरधनी स्वयमले नहटाए कानूनी तवरबाट हटाइने बताएका छन्।

पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकखण्ड विस्तारको सन्दर्भमा शुक्रबार सरोबारवालाहरूबीच भएको छलफलमा डिभिजन प्रमुख यादवले साउन १६ सम्म पनि सडक क्षेत्र खाली नभए कार्यालयले आफैँ खाली गराउने बताए।

प्रमुख यादवले असार १० गते प्रकाशन भएको सूचनाको विषयमा जानकारी गराउँदै यो पटक हेटौँडाका घरधनीको माग अनुसार सरकारले २५ मिटरलाई घटाएर २५ गज मात्र बनाएको बताए। उनले साउन १६ सम्म सूचनालाई वेवास्ता गरिए कानूनी तवरबाट अतिक्रमित घर टहरा हटाइने बताए।

‘सडक विस्तार कार्य कानून अनुसार अघि बढ्छ। त्यसकारण यसमा अवरोध गर्ने कार्य कसैले नगरौँ। बरु आफैँ घर भत्काउन चाहानुहुन्छ भने, हामी सहयोग गर्छौँ। जसबाट कम क्षति हुन्छ। तर, यस पटक सडक विस्तार भएरै छाड्छ।’ डिभिजन प्रमुख यादवले भने।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले सरोकारवालाहरूबीच आवश्यक समन्वय गरी विकासको पक्षमा सबै एकजुट हुन् आह्वान गरे।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले यस पटक हेटौँडामा सडक बिस्तार भएरै छाड्ने दाबी गरिन्। यो विषयलाई थप गिजोलेर समस्या थप्न नहुनेमा उनले जोड दिइन्।

त्यस्तै उपमेयर राजेश बानियाँले सडक विस्तारको विषयमा आवश्यक समन्वय गर्न उपमहानगरपालिका तयार रहेको बताउँदै नगरसभाबाटै विस्तारको पक्षमा निर्णय गरिएको बताए।

छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले चालु आवस्थामा राज्यले पीडितलाई मुआब्जा र कुनै क्षतिपूर्ति नदिई घर भत्काउन नहुने बताए। उनले राज्यले पेलेर अघि बढ्न खोजे प्रतिकार गरिने बताए।

छलफलमा विभिन्न राजनीतिक दल, जिल्ला समन्वय समिति, सुरक्षा निकाय तथा सडक क्षेत्रका घरधनीहरूले आ-आफ्नो धारणा राखेका थिए।