July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कानुन व्यवसायी र कर्मचारीबीच ‘वार’, अदालत प्रभावित

 

काठमाडौं–

कानुन व्यवसायी (अधिवक्ता) र जिल्ला अदालतका कर्मचारीबीचको लफडाका कारण अदालत प्रभावित बनेका छन्। गत बुधबार ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै अदालतमा कार्यरत कर्मचारीहरुले आइतबार देशभरका अदालतमा आन्दोलन गरे।

कर्मचारीको आन्दोलनका कारण अदालतमा सेवा लिन पुगेका सेवाग्राहीले सेवा पाएनन्। कर्मचारीको आन्दोलनले अदालतको काम कामकारबाही पनि प्रभावित बन्यो।

अभद्र व्यवहारको आरोपमा अधिवक्ता लामिछाने पक्राउ 
नायब सुब्बा तामाङले आफूलाई अधिवक्ता लामिछानेले हातपात गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि गत बिहीबार प्रहरीले लामिछानेलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका लामिछानेलाई  अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ।

रिहा गर्न कानुन व्यवसायीको माग
उच्च अदालत बार एसोशिएसन पाटन ललितपुरले अधिवक्ता लामिछानेलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ। बार एशोसिएशनले एक विज्ञप्ति जारी गर्दै उच्च अदालत बार एशोसिएन पाटनका सदस्यसमेत रहेका लामिछानेले आफ्नो पक्षको मुद्दामा भएको आदेशबारे जानकारी लिने क्रममा फाँटवाला कर्मचारी नासु तामाङलाई अनुरोध गर्दा निजले आदेश हेर्न नदिएपछि सोही विषयमा श्रेस्तेदारसँगसमेत अनुरोध गरेपश्चात आदेश हेर्नु दिनुहोस् भन्दा आवेशमा आई अपशब्द प्रयोग गरि उल्टै हातपात गरेको आरोप लगाएको छ।

कानुन व्यवासायी लामिछानेले सामान्य प्रतिरक्षा गर्दा सीसीटीभी फुटेज हेरि तत्कालै दोहोरो संवादमार्फत् टुंगो लगाउनुपर्नेमा अदालत प्रशासनले उपयुक्त पहल नगरी प्रहरी प्रशासनको जिम्मा लगाएको भन्दै बारले विरोध जनाएको हो। सत्य,तथ्य नबुझी एकतर्फी रुपमा कानुन व्यवसायीलाई दोषी देखाएको भन्दै घटनालाई तोडमोड गरेको बारको आरोप छ। साथै प्रहरी प्रशासनमा रहेका कानुन व्यवसायी लामिछानेलाई रिहा गर्न समेत माग गरेको  छ।

ललितपुर बार एशोसिएसनद्वारा बेन्च बहिस्कार 
ललितपुर बार एशोसिएशनले आइतबार बेन्च बहिस्कार गरेको छ। फाँटबाट सेवा प्रवाह गर्ने क्रममा नासु तामाङ र अधिवक्ता लामिछानेबीच भएको सामान्य विवादको कारण सृजित घटनाबाट एकतर्फी रुपमा कानुन व्यवसायीलाई दोषी देखाएको भन्दै विरोधमा बेन्च बहिस्कार गरेको हो।

अधिवक्ता लामिछानेलाई ललितपुर जिल्ला अदालत परिसरबाट पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरी प्रहरी हिरासतमा राखिएकोमा बिनाशर्त रिहा गर्न माग गरिएको छ। विरोध स्वरुप बारले आइतबार पेसीमा बहस पैरवी नगर्नुका साथै बेन्चसमेत बहिस्कार गरेको छ।

सीसीटीभी फुटेज देखाउन बारको माग, अदालतद्वारा अस्वीकार
ललितपुर बार एशोसिएशनले घटनाको बारेमा सत्यतथ्य बाहिर ल्याउनका लागि सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको छ। बार एशोसिएशनले उक्त घटनाको सन्दर्भमा ललितपुर बार एशोसिएशन, अदालत प्रशासन, न्यायाधीशहरु र नासु प्रेमिकाबीच ललिपुर जिल्ला अदालतमा बैठक बसी छलफल गर्दा सत्य तथ्य बाहिर ल्याउने प्रमुख प्रमाणको रुपमा रहेको सीसीटीभी फुटेज हेरि अघाडि बढाउन अनुरोध गरेको छ।

lalit pur adalat1688300312.png

तर अदालत प्रशासनले भने सीसीटीभी रेकर्ड बिग्रिएकाले मर्मतका लागि सर्वोचच अदालत पठाएको प्रतिक्रिया दिएको छ। ललितपुर जिल्ला अदालतको सूचना प्रविधि शाखाले सर्वोच्च अदालत सूचना प्रविधि महाशाखालाई पत्र पठाउँदै ललितपुर जिल्ला अदालतको सीसीटीभी क्यामेराको रेकर्ड गर्नका लागि प्रयोग भएको हार्डडिस्कमा समस्या देखिएको उल्लेख गरेको छ।

साथै बजेटको अभावले गर्दा आवश्यक व्यवस्थापन गर्न नसकिएकाले आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ। कानुन व्यवसायीहरुले लामिछानेको बचाउ गर्दै अदालतका कर्मचारीबाट विज्ञप्ति आउने कार्य असम्बन्धित पक्षबाट अनावश्यक दबाब आएको आरोप लगाउँदै सत्य तथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्न र लामिछानेलाई तत्काल रिहा गर्न माग गरेका छन्।

निजामती कर्मचारी संगठनहरु नासु तामाङको पक्षमा 
विभिन्न निजामती कर्मचारी संघ, संगठनहरु नासु प्रेमिका तामाङको पक्षमा उभिएका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन र निजामती एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै तामाङको पक्ष लिएका छन्।

उनीहरुले घटनामा संग्लन कानुन व्यवसायीलाई आवश्यक कारबाहीको लागि लेखी पठाउन र अदालतको अपहेलना मुद्दाको कारबाही अघाडि बढाउन माग गरेका छन्। उनीहरुले कानुन व्यवसायी लामिछानेको अधिवक्ता नं. समेत बदर गर्न माग गरेका छन्। विरोध स्वरुप बिहान १० बजेदेखि १:३० बजेसम्म देशैभरका अदालतको काम ठप्प पार्दै विरोधमा उत्रिएका छन्।

कर्मचारीको आम हड्तालका कारण मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही भने मर्कामा परेका छन्। कर्मचारीले काम बन्द गरेका कारण फाँटबाट हुने कामहरुसमेत प्रभावित बने। कर्मचारीहरुको आन्दोलनका कारण न्याय सम्पादनसम्बन्धी सबै कामहरु प्रभावित भएका छन्।