September 7, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कांग्रेस र एमालेको कुकर्मले नेपाली जनताले दुख पाईरहेका छन्–प्रभु साह

काठमाडौं ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले ‘खिचडी’ संविधानका कारण मुलुक र नेपाली जनताले दुख भोग्नुपरेको बताएका छन् । कांग्रेस र एमालेको सत्ता–सहकार्य देश र जनताको लागि झनै घातक रहेको उनले बताए ।

प्रतिनिधिसभाको आईतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिने क्रममा साहले यस्तो बताएका हुन् । पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले कांग्रेस र एमालेकै कारण नेपाली जनताले दुख भोग्नुपरेको बताउँदै त्यसको जिम्मा लिनुपर्ने सुझाव दिए ।

‘कांग्रेस र एमालेको सहकार्य हाम्रो देशमा बढ्दो संकटको अभिव्यक्ति हो । यो सहकार्यले देशलाई अझै संकटमा लैजान्छ भन्ने मेरो बुझाई हो । हामी झलभझली २०६१ सालको इतिहासलाई सम्झौं, शेरबहादुर देउवाजीको सरकारमा एमाले गयो, जनताले कसरी दुःख पाए भन्ने कुरा हामीले बुझेकै छौं । संविधानसभा भयो, कांग्रेस र एमाले मिले । नेपालमा गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहलाई राष्ट्रपति हुनबाट रोक्नुभयो’ साहले भने, ‘संविधानसभालाई कसरी विफल पार्नुभयो ? र, खिलराज रेग्मीसम्म पुर्याउनुभयो । त्यो हामीले बिर्सिएका छैनौं । दोस्रो संविधानसभा भयो, तपाईंहरु मिल्नुभयो । कस्तो संविधान बनाउनुभयो भन्ने कुरा तपाईंहरु आँफै अभिव्यक्त गरिरहनुभएको छ । देशलाई दुःख दिने, जनतालाई निराश बनाउने सबै कर्म, कुकर्म तपाईंहरु मिलेरै गर्नुभएको छ । आज संविधान संशोधनको नाटक उचित छैन् । पहिला त्यसको जिम्मा लिनुपर्छ ।’

कांग्रेस र एमालेले अहिलेसम्म गरेको अपराधको जिम्मा लिनुपर्ने उनले बताए । उनले देशमा राजनीतिक अस्थिरताको खेल कांग्रेस र एमालेको स्वार्थमा भैरहेको दाबी गरे । कांग्रेस र एमालेले अहिलेपनि छद्यमभेषी राजनीति गरेको आरोप उनले लगाए ।

कांग्रेसका जिम्मेवार नेताहरुले नै सदनमा केपी ओली नेतृत्वको सरकारको पालामा गिरिबन्धुको नीतिगत भ्रष्टाचार भएको भनेर बोलेको स्मरण गराउँदै आज ओलीलाई नै प्रधानभमन्त्री बनाएकोमा साहले प्रश्न उठाए । ओलीले पनि आफ्नो संसदीय दलको बैठकमा ७० विघा कांग्रेसले बेचेर खाएको भनेर आरोप लगाएको उनले स्मरण गराए ।

‘संसदीय दलको बैठकमा ओलीजीले ७० विघा नेपाली कांग्रेसले बेचेर खायो भन्नु भएको छ । फेरि नेपाली कांग्रेसलाई सत्तामा ल्याईरहनुभएको छ, जनताले कसरी विश्वास गर्छन् ? अघि यहाँ तपाईंले भ्रष्टाचार गर्दैनौं र सहन्नौं भन्नुभयो, नेपाली कांग्रेसलाई जग्गा खायो भन्नेलाई कसरी च्याप्नुभएको छ ? गिरिबन्धुको केसमा सम्माननीय प्रधानमन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ, यो विषयमा नाम जोडेर १० चोटी आईसक्यो । सर्वोच्च अदालतले भनेको छ कि यो नीतिगत भ्रष्टाचार हो । जहाँ जहाँ भ्रष्टाचारको विषय उठेको छ, त्यो विषय स्पष्ट गरिदिनुपर्छ’ साहले भने ।

नेपालमा सरकार फेरबदल भएसँगै विदेश नीतिको विषयमा कुरा उठेको उनले सुनाए । ‘नेपालमा सरकारपिच्छे विदेश नीतिका कुरा आउँछन् । कहिले उत्तर त कहिले दक्षिण ढल्किएको कुरा आउँछ । अहिले जुन ढंगको हस्तक्षेप बढिरहेको छ, यसमा मलाई चिन्ता छ । हाम्रो विदेश नीति कस्तो हुन्छ ? यो सरकारले विदेश नीतिलाई सन्तुलित गर्छ कि गर्दैन् ? अहिलेको सम्माननीय प्रधानमन्त्री जुन जुन बेला प्रधानमन्त्री बन्नुभएको छ त्यो बेलामा भारतसँगको सम्बन्ध उतारचढाव रहेको कुरामा हामी सबै जानकार छौं । अब भारतसँग सम्बन्ध कस्तो रहन्छ ? यो सबैको चासोको विषय छ’ साहले भने, ‘हामीले यही संसदमा सर्वसम्म्त ढंगबाट पारित गरेको चुच्चे नक्शा कार्यान्वयन हुन्छ कि हुँदैन् ? सम्माननीय प्रधानमन्त्रीज्यूले एमालेको सरकार आएपछिमात्रै कार्यान्वयन हुन्छ भन्नुभएको छ, अब एमालेको सरकार आएको छ, त्यो चुच्चे नक्शा कार्यान्वयन हुनुपर्छ । हाम्रो नेपाली भूभाग नेपालले पाउनुपर्छ । कसरी पाउँछन् ? कहिले पाउँछ ? त्यसको विधि र डेट पनि बताईदिनुहोस, नेपाली जनता त्यसमा आश्वस्त हुन चाहन्छन् ।’

उनले नेपाल र भारत सरकारको पहलमा बनेको इपिजीले तयार पारेको प्रतिवेदन कहिले भारतले बुझ्छ ? र कहिले कार्यान्वयनमा जान्छ ? भन्ने विषयमा जनताले जान्न चाहेको पनि बताए ।

रामको जन्मभूमिको बारेमा प्रधानमन्त्री ओलीले पटक पटक बोलेको विषयमा स्पष्ट पार्न पनि आग्रह गरेका छन् । उनले भने, ‘सबैभन्दा बढि चर्चाको विषय अयोध्याको पनि रहेको छ । जहिलेपनि नेपालको प्रधानमन्त्री इण्डिया जाँदा अहिलेको सम्माननीय प्रधानमन्त्रीले कुनै न कुनै कार्यक्रममा अयोध्या नेपालमा छ । इण्डियाले बनावटी (नक्कली) अयोध्या खडा गरेको छ भनेर भन्नुभएको छ । हामी चाहन्छौं उहाँ प्रधानमन्त्री भएको बेलामा यो कुरा तथ्यगत ढंगले हामी पुष्टि गरौं । नेपाललाई हामी ठूलो लाभदायी बनाउन सक्छौं । हामीले साँच्चिकै गर्नको लागि बोलेको हो कि बोल्नको लागि मात्रै हो ? यहाँ आएर बोल्नुपर्छ । बाहिर बोलेरमात्रै हुँदैन् ।’

उनले गलत संविधान बनाएकोले देश बिग्रिरहेको पनि टिप्पणी गरे । कांग्रेस र एमाले मिलेर संविधान संशोधनको नाटक गरेको भन्दै उक्त विषय अनुचित रहेको उनले बताएका छन् ।

‘देशलाई दुःख दिने, बर्बाद गर्ने, जनतालाई निरास पार्ने सबै कर्म तपाईंहरू मिलेरै गर्नु भएको छ । आज संशोधन (संविधान संशोधन) नाटक उचित छैन’ साहले भने, ‘पहिला जिम्मा लिनुपर्छ । मैले अपराध गरेकै हो भन्नु पर्छ, अनि मात्रै करेक्सनको कुरा न्यायोचित हुन्छ ।’

साहले वर्तमान सत्ता पक्षमा रहेका नेताहरुको नियत सही नभएको भन्दै अहिलेको सरकारले पनि देशलाई गति दिन नसक्ने दावी गरे । उनले नेताहरु जवाफदेही हुनुपर्नेमा जोड दिँदै नेताहरुले बोल्दा खिसिट्युरी हुने अवस्था रहेको बताए । उनले ओलीले प्रस्तुत गरेको सरकारको रोडम्यापमा आश्वस्त हुने अवस्था नरहेको पनि बताए । ओलीमाथि प्रश्न धेरै रहेकाले विश्वासको मत दिन उचित नहुने उनको भनाइ थियो ।