July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कारागारबाट भारुसहित मोबाइल बरामद

 

धनगढी, असार ९ गते ।

कैलाली कारागारभित्र अवैध सामग्री भित्रिनेगरेको गुनासो बढेपछि अनुगमन गरिएको छ । कारागार व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार प्रशासनको संयुक्त टोलीले अनुगमन गरेको हो ।

शुक्रबार गरिएको अनुगमनको क्रममा एक भारतीय कैदीको साथबाट एक लाख ४ हजार भारु बरामद गरिएको हो । यसैगरी, १५ थान मोबाइल ३३ वटा चार्जर, केही थान इयरफोन पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

लागुऔषधसमेत कारागार भित्रिने गरेको आशङ्कामा टोलीले अनुगमन गरेको हो । तर, त्यस्तो सामग्री फेला नपरेको जनाइएको छ । यस्तै, चार्जर सङ्ख्याअनुसार कारागारभित्र मोबाइल पनि फेला परेन । कैदीलाई कारागारभित्र मोबाइल प्रयोग प्रतिबन्ध गरिएको छ । तर, कैलाली कारागारभित्र कतिपय कैदीले अवैध तरिकाले मोबाइल प्रयोग गर्दैआएका छन् ।

बरामद गरिएको पैसासहित सामान कारागार कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । ५०० को २०८ थान भारु कैदीको साथमा कसरी आयो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको साउदले जानकारी दिनुभयो । उहाँका अनुसार पैसा राखेका कैदी १०–१२ वर्षदेखि कैलाली कारागारमा छन् ।

भेट्न आएका आफन्तले दिएको पैसा जम्मा गर्दैजाँदा त्यति रुपियाँ भएको ती कैदीले जिकिर गरेको प्रहरीले जनाएको छ । तर कारागारको जानकारीबिनै त्यति पैसा एउटा कैदीले राख्नु शङ्कास्पद् देखिएको छ । धेरै पैसा राख्ने ती कैदीको सम्बन्ध अन्य अपराधसँग जोडिएको छ, छैन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

अनुगमन टोलीले कैदीका मोबाइल, चार्जर जफत गरेपछि गेटमा प्रहरी र कैदीबीच धक्कामुक्की भएको थियो । सो क्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई भूपेन्द्र सामन्तलाई चोट लागेको छ । चोट लागेर असई घाइते हुनुभएको प्रहरी निरीक्षक साउदले बताउनुभयो ।