April 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

विवेक ओझाको ‘ऐँठन’ सार्वजनिक

 

काठमाडौं-

चर्चित उपन्यास ऐलानीका लेखक विवेक ओझा पाँच वर्षपछि नयाँ उपन्यास ऐँठन लिएर आएका छन्। शनिबार एक समारोहबीच द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रिय सदस्य रेणु चन्दले एकसाथ ऐँठन सार्वजनिक गरेका हुन्।

पुस्तकका बारे बोल्दै सुमन अधिकारीले पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्ता माझ चिनाउने गरि लेखक ओझाले सजिव चित्रण गरेका बताए। साथै उनले राज्यले द्वन्द्व पिडितका भावनालाई राज्यले सम्बोधन नगरेका अवस्थामा यस पुस्तकलेसमेत घच्घच्याउने आशा राखेको उल्लेख गरे।

राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले नेपाली युद्ध साहित्यले एक उम्दा कृति पाएको बताउँदै पुस्तकले गम्भीर पाठकलाई पुस्तकको प्रभाव सपनासम्म हुने उल्लेख गरे। पुस्तकमा केही दशकअघिको नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्ने ताकत भएको उनको भनाइ थियो।

दाहालले युद्धमाथि लेखिएको भए पनि पुस्तकले प्रस्तुत गरेको मानवीय पक्षधरताले पुस्तकलाई सशक्त बनाएको बताए। कलात्मक लेखन र कल्पनाको विशाल संसार निर्माणले पाठकलाई अचम्मित पार्ने उनको भनाइ थियो।

नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने खालको साथ घटनाक्रमको सिलसिला मिलेको हुँदा पढ्न सहज भएको बताइन्। उनले लेखकको भाषाको सरलता र आञ्चलिक भाषा समेतको प्रयोग गर्ने कलाले आफूलाई प्रभावित बनाएको बताइन्।

लेखकले सृजनशील स्वतन्त्रताको उपयोग गर्दै माओवादी जनयुद्धका बारेमा लेखे पनि माओवादी आन्दोलनप्रति निर्मम भएकामा भने आफ्नो असन्तोष व्यक्त गरिन्। तर आफ्ना कथाहरु लेख्न विवेक ओझाका कृतिले प्रेरित गर्ने पनि उनको भनाइ थियो। पुस्तकको सशक्त पक्ष भने युद्ध लेखेर शान्तिको सन्देश दिनु रहेको उनको तर्क थियो।

कार्यक्रममा बोल्दै लेखक ओझाले बोल्नुभन्दा लेख्नु सहज रहेको बताए। लेखनमा केरमेट र सम्पादनको सुविधा हुँदा लेखकलाई लेख्न नै सहज रहने बताउँदै उहाँले पुस्तक कुनै बन्दुकधारीको पक्षबाट नलेखी निहत्था आम नागरिकको आँखाबाट लेखिएको बताउँदै पाठकले मनपराउने आशा व्यक्त गरे।