July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

एनआरएनको माग सम्बोधनमा सकारात्मक पहल गर्नेछु : राष्ट्रपति पौडेल

 

काठमाडौं :

राष्ट्रपति रामचन्द्र पौडेलसँग गैरआवासीय नेपाली संघ(एनआरएनए)का कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्य नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटघाट सम्पन्न भएको छ। एनआरएनएका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै शुक्रवार राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

गैरआवासीय नेपालीको नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकोले उक्त विषय पनि केही समयभित्रै सम्बोधन हुने राष्टपति पौडेलको भनाई थियो। भेटका क्रममा राष्टपति पौडेलले नेपालको पर्यटकीय विकासका लागि गैरआवासीय नेपालीको भूमिका अहम् हुने भन्दै नेपालको साहित्यक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गरे। आदिकवि भानुभक्त आचार्यको जन्म भएको तनहुँको चुँदीरम्घामा राष्ट्रिय एकतालाई भावनात्मक रुपमा विकास गर्न आफूले बृहत् योजना ल्याएको भन्दै त्यसमा सहभागी भई योगदान गर्न समेत संघका प्रतिनिधिलाई राष्टपति पौडेलले आह्वान गरे।

राष्ट्रपति निवासमा भएको भेटमा कार्यकारी अध्यक्ष थापा, अध्यक्ष कुल आचार्य, संस्थापक अध्यक्ष उपेन्द्र महतो, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गोविन्द प्रसाद गौतम, प्रवक्ता सोम सापकोटा, कोषाध्यक्ष लोक प्रसाद दाहाल, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, यूवा संयोजक अब्दूल वसिद, संस्थापक सचिव चिरिन्जीवि ढकाल, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सूवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, एनआरएन दक्षिण कोरियाका राजन कूवँर, एनआरएनएन यूएसएका पदम विश्वकर्मा एनआरएनएका फोकल पर्सन सरोज दाहाल, संघका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति रहेको थियो।