July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सिक्किमे नेपालीभाषीलाई ‘विदेशी’ भन्ने शब्द हटाउन भारतको सर्वोच्च अदालत तयार

 

भारतीय सर्वोच्च अदालतले सिक्किममा रहेका नेपालीभाषीहरूलाई ‘विदेशी मूलका मानिसहरू’ भन्ने फैसलाको एक अंश हटाउने भएको छ । आयकरसम्बन्धी मुद्दाको फैसलामा सिक्किमे नेपालीभाषीहरूलाई ‘विदेशी मूलको मानिसहरू’ भनेपछि सिक्किममा कडा प्रदर्शन भएको थियो ।

अदालतको आदेशपछि सिक्किम अशान्त बनेपछि सिक्किम राज्य सरकारले फैसलाको केही बुँदा पुनरावलोकनको गर्न सर्वोच्चमा पुनरावलोकनको लागि रिट हालेको थियो । सोही, रिटमाथि न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले बुधबार सिक्किम-नेपाली व्यक्तिहरूलाई ‘विदेशी मूलका मानिसहरू’ संशोधन गर्ने भएको छ ।

भारतीय अनलाइन लाइभलका अनुसार बुधबारको आदेशमा भनिएको छ, ‘दुर्भाग्यवश रिट निवेदकहरूका लागि विद्वान अधिवक्ताहरूले मुद्दाको छलफलको समय ठोस संशोधनहरू ल्याएनन् । यो उनीहरूको कर्तव्य थियो । अदालतको ध्यानाकर्षण गराउन अहिले अदालतबाटै त्रुटि भएको मानेर सच्याउन माग गरिएको छ । तर, सम्बन्धित पक्षका वरिष्ठ अधिवक्ताको कुरा सुनेर हामीले न्यायोचित र उचित ठानेका छौँ ।’

एसोसिएसन अफ ओल्ड सेटलर्स अफ सिक्किम विरुद्ध युनियन अफ इन्डियाको मुद्दामा भएको फैसलामा ‘त्यसैले सिक्किमका मूल बासिन्दाहरू, अर्थात् भुटिया-लेप्चाहरू र नेपालीहरू जस्तै सिक्किममा बसोबास गर्ने विदेशी मूलका व्यक्तिहरू बिच कुनै भिन्नता थिएन’ शब्द उल्लेख गरिएको थियो ।