July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गुल्मी-१ मा ११ बजेबाट मतगणना सुरु हुने

गुल्मी, मङ्सिर ७ गते । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश वसन्तराज पौडेलको संयोजकत्वमा पुनः बुधबार बिहान बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले आज ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

यस क्षेत्रको मतगणना जिल्ला समन्वय समितिको सभाहल र सडक पूर्वाधार विकास कार्यालयमा गरिनेछ । मतगणना स्थलमा आवश्यक तार जालीसहित कडा सुरक्षा प्रबन्ध मिलाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

यस क्षेत्रमा पर्ने कालीगण्डकी गाउँपालिका अर्बेनीमाअवस्थित भगवती मावि मतदान केन्द्रमा पुनः मतदान गर्नुेपर्ने भएपछि गुल्मी क्षेत्र नम्बर १ को मतगणना हुन सकेको थिएन । प्रत्यक्षतर्फको मतपत्रमा मतदान गर्नुपर्नेमा प्रदेशसभाको प्रत्यक्ष तर्फको ५५ वटा मतपत्रमा मतदान भएपछि मतदान रोकिएको थियो । र रोकिएको केन्द्रमा मंगलबार पुनः मतदान गरिएको थियो ।

यस क्षेत्रमा एक लाख १९ हजार २८८ मतदाता रहेका छन् । यहाँ सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता, संविधान सभा सदस्य डा. चन्द्र भण्डारी र नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।