July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

ब्याजदर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

कात्तिक २०, २०७९

बैंक तथा वित्तीय संस्थाहरूको मनपरी ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। आ–आफ्ना व्यापारिक व्यावसायिक प्रतिष्ठान सांकेतिक रूपमा बन्द गरी व्यवसायी सडक आन्दोलनमा उत्रिएका हुन्।

उद्योगी–व्यवसायीले आइतबार बिहान लहानमा बैंक तथा वित्तीय संस्थाको अव्यावहारिक नीति खारेज गर्, बैंकिङ आतंक बन्द गर्, डाँक लिलामको प्रक्रिया अहिलेको लागि बन्द गर्, कर्जा प्रवाह गर्दा भएको सम्झौताभन्दा बढी लिएको रकम फिर्ता गर् लगायतका नारा अंकित प्लेकार्ड बोकेर बजार क्षेत्रमा प्रदर्शन गरे।

जिल्ला उद्योग वाणिज्य संघ सिराहा लहान सम्बद्ध रामनगर मिर्चैया, सिराहा गोलबजार, सुखीपुर, धनगढीमाई उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यकारी सदस्य तथा उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। व्यवसायीहरूले एक अंकको ब्याजदर कायम गर्नुपर्ने, ब्याजबाहेकका कुनै पनि प्रकारको शुल्क लिन नपाइने, सम्झौताभन्दा बढी लिइएकाे सेवा शुल्क तत्काल फिर्ता गर्नुपर्ने, लिलामी प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, कर्जा नवीकरण म्याद कम्तीमा तीन वर्ष कायम गरिनुपर्ने, नेपाल राष्ट्र बैंकले १ मंसिर २०७९ देखि लागू गर्न लागेको ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ तत्काल खारेज गर्नुपर्ने र बैंकहरूले ब्याजदर परिवर्तन गर्दा मोबाइल एसएमएसमार्फत ग्राहकलाई जानकारी दिइनुपर्ने व्यवसायीहरूको माग छ। नयाँ पत्रिका