काठमाडाैं | असार ३०, २०८१
त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज (आइतवार) बिहानैबाट शुरू भएको छ ।
बिहान ८ बजेबाट पुनः खोजीको काम शुरू गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको संयुक्त टोलीले पालैपालो खोज्ने काम गरिरहेका छन् । खोजी कार्यमा तालिमप्राप्त गोताखोर पनि परिचालन गरिएको छ ।
साथै खोजी कार्यमा पानीभित्र प्रयोग गरी खोज्न सकिने वाटर ड्रोन, सोनार क्यामेरा, पाइपलाइन इन्सपेक्सन सिस्टम आदि प्रविधि प्रयोग गरिएको छ ।
शुरूकै दिनदेखि प्रहरीलगायत सुरक्षा निकायले बस तथा यात्रुको खोजी गरिरहेको छ तर अँध्यारो भएकाले शनिवार साँझदेखि खोजी कार्य रोकिएको थियो ।
आज गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएर बेपत्ता भएका बसका यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार तीन वटा शव भेटिएको छ । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।
पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् । साहको शव शनिवार बिहान ११ बजे र माझीको शव साँझ भेटिएको हो । माझीका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ ।
काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
शुक्रवार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए । काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए । लोकान्तर संवाददाता
More Stories
नदीमा बेपत्ता बालकको शव फेला
करेन्ट लागेर एकजनाको मृत्यु
सिमलताल दुर्घटना : बेपत्ताको खोजीमा ३ सय सशस्त्र प्रहरी परिचालित