September 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सत्ता गठबन्धनमा देखिने गरी बढ्यो असन्तुष्टि, दबाबमा प्रचण्ड

असार ५, २०८१

पछिल्लो आमचुनावछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक सत्ता सहयात्री परिवर्तन गरिसक्दा पनि सहयात्रीबाट अपेक्षित सहयोग पाउन सकेका छैनन् । चुनावका सहयात्री छोडेर २०७९ पुसमा प्रचण्डले एमालेसँग मिलेर सरकार बनाए । तर, त्यो गठबन्धन फागुनमै तोडियो ।

कांग्रेससँग सहकार्य गरेका प्रचण्डले २०८० फागुनमा फेरि एमालेलाई साथमा लिएर कांग्रेसलाई प्रतिपक्षी बेच्नमा पुर्‍याए । एमालेलाई दोस्रोपटक सत्ता सहयात्री बनाएको चार महिनामा फेरि प्रचण्डमा उकुसमुकुस हुन थालेको छ ।

अहिलेको सत्ता गठबन्धनमा देखिने गरी अविश्वास र असन्तुष्टि बढेको संसदमा बजेट प्रस्तुत भएसँगै हो । १५ जेठमा अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट पेस गरेपछि एमालेले प्रारम्भिक प्रतिक्रिया सकारात्मक दिए पनि २० जेठमा संसदमा बजेटमाथि छलफल सुरु हुँदा भने आलोचनामा उत्रियो । दुईपटक संसदीय दलको बैठक नै राखेर एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथि असन्तुष्टि मात्र जनाएनन्, संसदमा प्रभावकारी रूपमा छलफल गर्न आफ्ना सांसदहरूलाई निर्देशनसमेत दिए । त्यति मात्र होइन, उनले बजेटले विकास नै रोकिदिएको सम्म टिप्पणी गरिसकेका छन् ।

यसरी सत्ता सहयात्रीबाटै बजेटको विरोध हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड दबाबमा परेका छन् । त्यसकारण प्रचण्ड सार्वजनिक रूपमा बजेटबारे बोल्न सक्ने अवस्थामा छैनन् । ओलीले गरिरहेकाे विराेधबारे उनकाे सामान्य टिप्पणी छ, ‘उहाँले विराेध गरेजस्ताे गर्नुभएकाे हाे ।’

संसदमा बजेटमाथि विपक्षी दलहरूकै स्वरमा एमालेका मात्र नभई रास्वपाका सांसदहरू पनि थपिएका छन् । मन्त्रालयगत बजेटमाथि छलफल हुँदा त एमालेले सम्हालेका मन्त्रालयको बजेटमा माओवादी सांसदकै विरोध देखियो । अझ पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी उपमहासचिव जनार्दन शर्माले त यो बजेटले केही पनि परिवर्तन नगर्ने ठोकुवा नै गरिदिए । यसरी सरकार र प्रचण्डप्रति असन्तुष्टि पाेख्ने माध्यम बजेटकाे छलफल बन्न पुगेकाे छ ।

सत्ता सहयात्रीबाट बजेटको विरोधले गठबन्धनमा बढिरहेको अविश्वास देखाइरहेकाे छ । बजेटमा मात्र हाेइन, सत्ता गठबन्धनमा असन्तुष्टि बढ्नुको अर्को कारण सहकारी प्रकरण पनि हाे । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेपछि प्रचण्ड दबाबमा परेका थिए । यो प्रकरणमा उनलाई सत्ता सहयात्रीबाट सहयोग भएन । बरु अप्ठ्यारो पार्न खाेजिएकाे बालुवाटारकाे बुझाइ छ ।

समिति बनाउन प्रचण्ड लचक देखिए पनि एमाले र रास्वपा कडा रूपमा विरोधमा उत्रिए । सुरूमा समिति गठन गर्नै नहुने अडानमा एमाले र रास्वपा रहे, दबाब बढ्दै गएपछि लामिछानेकाे नाम नराखेर गठन हुनुपर्ने अडान लिए । तर, अन्तिममा बजेट ल्याउनै नसक्ने अवस्थामा पुगेपछि भने सरकार कांग्रेसको माग पूरा गर्न बाध्य भयो । अन्ततः लामिछाने मुछिएका भनिएका सहकारीका नाम राखेर समिति बनाइयाे ।

सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी) जाे कुनै बेला उपप्रधानमन्त्री लामिछानेका व्यापारिक साझेदार थिए, उनको विषयले पनि प्रचण्ड र लामिछानेबीच अविश्वासको वातावरण बनेको छ । लामिछानेले त पूर्ववर्ती सरकारले जीबी राईलाई भगाएको आरोपसमेत लगाएका थिए, जसको प्रचण्डले खण्डन मात्र गरेनन्, ‘वाहियात कुरा’ भने । आफ्नै मन्त्रिपरिषद्का एक मन्त्रीले आफैँमाथि त्यस्तो आरोप लगाएपछि प्रचण्ड असन्तुष्ट हुनु स्वाभाविक हो, उनी लामिछानेसँग यो प्रकरणले असन्तुष्ट बनेका थिए ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीबाट सहयोग नपाएको अर्को विषय हो– प्रहरी प्रशासन । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई हटाउने तयारी गरेपछि प्रचण्ड झस्किए । आईजीपी हटाउने चलखेल भएको सार्वजनिक चर्चा हुन थालेपछि चितवन पुगेर प्रचण्डले त्यसको खण्डन गर्नुपरेको थियो । प्रचण्डले आईजीपी परिवर्तन नहुने बताएका थिए ।

राजदूत फिर्ताको निर्णयले पनि गठबन्धनमा असन्तुष्टि रहेको देखाएको छ । प्रचण्ड यस्ता पहिलो प्रधानमन्त्री हुन् जसले एउटै मन्त्रिपरिषद् बैठकमा आफ्नो विदेश भ्रमण र सो देशका लागि नेपाली राजदूतलाई फिर्ता गर्ने निर्णय गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन भ्रमण स्वीकृत गराउँदा उनले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई फिर्ता बोलाउने निर्णय पनि गरेका थिए । शर्मासँगै यसअघि कांग्रेस र अहिलेको सत्ता सहयात्री नेकपा एसको कोटाबाट राजदूत बनेका ११ जनालाई फिर्ता गरिएको छ । यी राजदूत २०७८ मा ओली सरकार ढलेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले फिर्ता बाेलाएका ११ राजदूतकाे सट्टा पठाइएका थिए ।

प्रचण्डले दिल्लीबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भारत भ्रमणअघि नै राजदूत फिर्ताको निर्णय गलत हुन पुगेको भन्दै कमजोरी स्वीकारेका थिए ।

सत्ता गठबन्धनमा असन्तुष्टि बढाउने एमाले अध्यक्ष ओलीको अर्को एक भाषण पनि कारक बनेको छ । काठमाडौं एमाले जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा ओलीले फेरि आफूले संसद विघटन गरेको सही भएको बताएका थिए । २६ जेठमा उनले एमाले जाेगाउन संसद विघटन गरेकाे भन्दै पुनः आफ्नाे असंवैधानिक कदमकाे बचाउ गर्न पुगे । यसले पनि सत्ता गठबन्धनमा असन्तुष्टि पैदा गरेको छ । किनकि, पहिलोपटक एमालेसँगको गठबन्धन तोड्दा प्रचण्डले संसदमा ओलीले संसद विघटन गरेकाे विषयमा बाेलेकाेलाई एउटा कारण बताएका थिए । अहिले ओलीले फेरि त्यही कुरा दोहोर्‍याउनुले फेरि गठबन्धनमा गडबड भएको संकेत गरेकाे छ । शिलापत्र संवाददाता