July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

स्वयम्भू महाचैत्य गजुर मर्मतको काम ६० प्रतिशत सकियो (फोटो फिचर )

 

काठमाडौं, असार १९ गते । 

स्वयम्भू महाचैत्यको गजुर मर्मत भइरहेको छ । २०७२ सालको भूकम्पले जीर्ण बनेको स्वयम्भू महाचैत्यको गजुर गत फागुनको हावाहुरीले खसेको थियो । यसपछि पुरात्व विभाग र स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गजुर निर्माण कार्य सुरु गरेको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव अशोककाजी बुद्धाचार्यले जानकारी दिनुभयो ।

“२०७२ सालको भूकम्पले गजुरलाई ढल्काएको थियो । त्यसैमाथि बाँदर चढ्ने र हल्लाउने गरेपछि गजुर अझै ढल्कियो । त्यसपछि गजुर मिलाउने प्रस्ताव बैठकमा राखेको थिएँ”, उहाँ भन्नुहुन्छ, “स्वयम्भू महाचैत्य सम्पदाभित्र परेको मुख्य महाचैत्य नै भएकाले पुनः निर्माण गर्न पुरातत्त्व  विभागबाट स्वीकृति लिनुपर्छ ।”

२०७९ पुसतिर विभागमा गजुर मर्मतका लागि चिट्ठी पठाएपछि मङ्सिर १९ गते टोली आएर चेकजाँच गरेपछि बनाउनुपर्ने निष्कर्षमा पुगेको उहाँले जानकारी दिनुभयो । अझै गजुर बनाउन पुराना कालिगढ र अहिलेका कालीगढ, मन्दिरको पुजारी सबैबीच छलफल भएको हो । यसरी तयारी गर्दागर्दै विभागबाट स्वीकृति पाउन ढिलो भएको उहाँको भनाइ छ ।

बुद्धाचार्य थप्नुहुन्छ, “२०७९ फागुन ३० गते हावाहुरी लागेर बिहान गजुर खसेको हामीले देख्यौं । गजुर खसेपछि अनिष्ट हुन्छ भन्ने भएपछि प्रहरी, पुरातत्त्व विभागलाई खबर गर्‍र्यौं । त्यसपछि उहाँहरू आएर गजुर खोजी गर्दा नजिकै झरेको रहेछ । समितिको बैठक बसेर पुरातत्त्व विभागबाट स्वीकृति लिएर परम्पराअनुसार क्षमा पूजा, शान्ति पूजा गरेर २०८० वैशाखबाट मात्रै गजुर मर्मत गर्न सुरु गरिएको हो ।”

अबका दिनमा यस्ता घटना नदोहोरियोस् भनेर राम्रैसँग बनाउन गइरहेको समितिले जनाएको छ । लामो समय टिकोस् भन्ने हिसाबले काम पनि भइरहेको छ । बाँदरले बिगार्ने भएकाले त्यस्तो समस्या नहोस् भनेर माथि सानोसानो काँडाहरू पनि राख्ने बुद्धाचार्यले जानकारी दिनुभयो ।

गजुर मर्मतको पूरै जिम्मा समितिले लिएकाले पुरानो स्वयम्भू बनाएका पुरानो विज्ञ कालीगढद्वारा मर्मत भइरहेको छ । महाचैत्यको पुरानो गजुरलाई नै मर्मत गरेर बिग्रेका काठको भागलाई झिकेर मर्मत तथा निर्माण गरिने उहाँले बताउनुभयो । अहिलेसम्म मर्मतको काम ६० प्रतिशत सकिएको छ ।