July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सडक कार्यालयको बेवास्ताका कारण बस्तीमा पहिरो

 

उदयपुर :

सडक कार्यालयले समयमा नै चासो नदिँदा उदयपुरको रौतामाई गाउँपालिका-७ पुँवारेमा पहिरोले  बस्तीमा क्षति पुर्‍याएको छ।

लहान सडक कार्यालय अन्तर्गत रहेको मुर्कुची–रौता सडक निर्माणाधीन अवस्थामा पहिरोले बगाउँदा सडक मुनीका बस्तीमा क्षति पुर्‍याएको हो। पहिरोले स्थानीय स्वस्ते सार्कीको झण्डै डेढ विघा क्षेत्रफलमा लगाएको धान, मकै, ग्वाली, भैसी, पाँडो पुरिदिएको छिमेकी नारायणबहादुर रायाले बताए।

त्यसैगरी रामबहादुर सार्कीको ग्वाली, सुँगुर, बाख्रा पहिरोले पुरेको उनले बताए। सोमबार रातिदेखि मुसलधारे पानी पर्दा स्थानीय गणेश सार्की, टेबहादुर दुलालको ग्वाली र खेतमा क्षति पुर्‍याएको उनले बताए।

पहिरो नरोकिएपछि सबैलाई छिमेकीको घरमा सुरक्षित गरिएको छ। पहिरोले बस्ती जोखिमको चपेटा परेपछि स्थानीय आक्रोशित बनेका छन्। रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरका अनुसार कार्यालयले पहिरोको उच्च जोखिम क्षेत्रमा विकल्प नै नदिई डोजर चलाउँदा बस्ती जोखिमा परेको हो। उनले भने, ‘सडकमुनी बस्ती बसेको अवश्थामा जाली, पर्खाल लगाएर वलियो बनाएर लैजानु पर्थ्यो, तर त्यसो नगरी कार्यालयले डोजर चलाउँदा समस्या आयो।’

‘वर्षाको समयमा सडककै कारण बस्तीमा समस्या आउँछ, त्यसैले जोखिम न्यूनीकरणको उपायसहित कामलाई चाँडै सक्न सुझाव दिँयौ,’ अध्यक्ष मगरले भने, ‘हाम्रो सुझावमा कार्यालयले चासो नदिँदा समस्या थपियो।’

समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली र लाहान सडक कार्यालयका प्रमुखलाई झिकाइएको उनले बताए। अध्यक्ष मगरले बस्तीलाई सुरक्षित गर्न विकल्पको खोजी भइरहेको बताए।