July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कर्मचारी कुटेको आरोपमा वकिल पक्राउ गरेको विरोधमा बार एसोसिएसनले बहस पैरवी नगर्ने

 

१७ असार, काठमाडौं ।

अदालतभित्रै कर्मचारी कुटेको आरोपमा वकिललाई पक्राउ गरिएको विरोधमा नेपाल बार एसोसिएसनले सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ ।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानून व्यवसायी अमिर लामिछाने पक्राउ परेका छन् ।

बारले उनलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने माग राखी सांकेतिक विरोध भन्दै सोमबार देशभरका अड्डा अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका निवेदनमा बहस पैरवी नगर्ने घोषणा गरेको हो ।

बारले लामिछानेलाई तत्काल रिहा गर्न, सीसीटीभी फुटेज सार्वजनिक गर्न, लामिछानेले दिएको जाहेरी दर्ता गर्न माग गरेको छ ।

१३ असारमा जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप देशभरका अदालतका कर्मचारीहरुले आन्दोलन स्वरुप आज आइतबार ३ घण्टा काम रोकेका छन् ।

लामिछाने विरुद्ध नासु तामाङले १३ असार मै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् र लामिछाने पक्राउ परेका थिए ।