July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

‘मधेस र कर्णालीका दलित सबैभन्दा पिछडिएका’

 

२०८० असार १५ शुक्रबार

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सप्तरीका १८ वटै पालिकामा प्रमुख र उपप्रमुखसँग दलितहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्

शुक्रबार सप्तरीको कञ्चनरुप नगरपालिका– ८ स्थित दलित सरोकार मञ्च सप्तरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष विश्वकर्माले तुलनात्मक रुपमा मधेश र कर्णालीका दलित सबैभन्दा बढी पीँधमा रहेको बताउँदै यी क्षेत्रमा बढी काम गर्नुपर्ने बताए।

उनले भने, ‘मधेश प्रदेशमा दलितहरुको जनसंख्या १८ प्रतिशत छ। सप्तरी जिल्लामा त २४ प्रतिशत दलितहरु छन्। आठ वटा जिल्लामा १८ प्रतिशत जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरेर यहाँको सरकारले जति झिलिमिली गरे पनि कुनै अर्थ हुँदैन।’

कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले अझै पनि दलित समुदायले दैनिकरुपमा विभेदको सामना गर्नु परिरहेको बताए। उनले भने, ‘गैरदलित युवासँग दलितका छोरी प्रेम विवाह गर्दा घर छिर्न दिँदैनन् र अन्तिममा आत्महत्या गर्छन्। दलितको छोरा गैरदलितको छोरीसँग बिहे गर्दा बलात्कार र अपहरणको मुद्दामा जेल पठाउँछन्।’

जातीय विभेद अनपढले मात्रै गर्ने गरेको कुरा सही नभएको बताउँदै पासवानले भने, ‘देश छुवाछुतमुक्त भएको १७ बर्ष बितिसक्यो, तर सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवहरुजस्ताले खुलेआम विभेद गर्दा पनि राज्यले कुनै कारवाही नगरी पीडककै पक्षपोषण गरेको छ।’