July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कोशीमा प्रदेशसभा बैठक अनिश्चित, मुख्यमन्त्री कुर्दै विपक्षी दलहरु

 

१४ असार, विराटनगर

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान गर्नुअघि रोकिएको कोशी प्रदेशसभाको बैठक साढे दुई घण्टा भन्दा बढी समयसम्म सुरु हुन सकेको छैन ।

मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेर त्यसमाथि सबै राजनीतिक दलका प्रतिनिधिले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

तर अपरान्ह करिब ५ बजे स्थगित गरिएको बैठक साढे दुई घण्टा भन्दा बढी समयसम्म बस्न नसकेको हो । प्रदेशसभा सचिवालयले साढे ७ बजे सूचना निकालेर बैठक ८ बजेसम्मका लागि सारिएको बताएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका प्रदेशसभाका विपक्षी दलका प्रदेशसभा सदस्यहरु बैठककक्ष वरपर नै छन् । तर मुख्यमन्त्री, मन्त्रीहरु र एमालेका प्रदेशसभा सदस्यहरु बैठककक्ष वरपर छैनन् । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार बैठक बस्न सम्भव नभएको बताए । उनले सभामुखलाई बैठक भोलिसम्म सार्न आग्रह गरिएको पनि बताए ।

प्रदेशसभा बैठकमा दलहरुले धारणा राख्ने क्रम सकिएपछि सभामुख बाबुराम गौतमले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि मुख्यमन्त्ती कार्की विश्वासको मतसम्बन्धी प्रस्तावमा दलहरुले राखेको जिज्ञासाको जवाफ तयार पार्ने भन्दै प्रदेशसभाबाट निस्किएका थिए । मुख्यमन्त्रीसँगै मन्त्रीहरु पनि गएका थिए ।

मुख्यमन्त्री भाग्नुभयो : कांग्रेस नेता थापा

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत मागेर मुख्यमन्त्री भागेको टिप्पणी गरेका छन् । ‘विश्वासको मत मागेर मुख्यमन्त्री भाग्नुभयो’, उनले भने, ‘हामी कुरेको कुर्यैे छौं ।’

थापाले बिहीबार नै बैठक बस्न मुख्यमन्त्रीलाई कुरेर बसेको बताए ।