July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

महिला सिंगल्समा सुस्मितालाई स्वर्ण

 

काठमाडौँ

प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण पदक जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार फाइनलमा सुस्मिताले पुलिस क्लबकी यशस्वी अवालेलाई ११–९, ११–३, ११–९, ११–८ को सोझो सेटमा हराइन् । स्ट्याग च्याम्पियन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी प्राज्ना महर्जन तेस्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा आदर्श विद्यामन्दिर (एभीएम) का सुजन गडालले एपीएफ क्लबका राजीव चिकबन्जरलाई ११–६, ११–८, ११–९, ९–११, ११–७ र बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतले गोडस्पिन टेबलटेनिस एकेडेमीका समिप श्रेष्ठलाई ११–९, ११–९, ११–७, ११–७ को सेटमा हराउँदै फाइनल भेट पक्का गरे ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र समाजसेवी सुमन खड्गीले संयुक्त उद्घाटन गरे । आयोजक संघका अध्यक्ष एवं ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले क्यान्सर पीडित टेबलटेनिस खेलाडी सेलिशा खड्गीको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न गरिएको प्रतियोगितामा १ सय ७५ खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाएको बताए । प्रतियोगिता शनिबार सकिनेछ ।