July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अख्तियारसहितको टोली पशुपतिमा, जलहरी अपराह्न ४ बजेपछि पुनर्स्थापित गरिने

 

बुधबार, असार १३, २०८०

पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको छ। पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको छ।

‘हामी पशुपति परिसरमै छौं। अपराह्नपछि जलहरी प्रतिस्थापन गर्ने तयारी छ,’ पशुपति प्रांगणमा रहेका कोषका एक पदाधिकारीले सेतोपाटीलाई बताए।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।

सोमबार बिहान २ बजेसम्म लगाएर सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो।

यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।

त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो।र, त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ।

यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुने बताइएको छ।

यद्यपि, अख्तियारले सुनको परिमाण पुगेको नपुगेकोबारे खुलाएको छैन।

उजुरीको दुई वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गर्ने भनेको छ।

पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।

त्यसका लागि उसले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम शुद्ध सुन खरिद गरेको बताएको छ।

त्यसमा तामा २ किलो ८८८ ग्राम, चाँदी १ किलो २५३ ग्राम र जिन्क १२ ग्राम ७५ मिलि ग्राम मिसावट गरिएको उसको भनाइ छ।

२०७८ फागुनमा अदालतको आदेश छल्न छिटो तयार पारी ९६ किलो ८२२ ग्रामको जलहरी हालिएको र त्यसको मुचुल्का तयार गरेको कोषले बताउँदै आएको थियो।

रिङ र बाँकी सुनको तौल १० किलो ९७६ ग्राम रहेको उसको दाबी थियो।

महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ले यसबारे प्रश्न उठाएको थियो।

उसले नेपाल राष्ट्र बैंकबाट ८० करोड ११  हजारमा १०३ किलो ७७३ ग्राम खरिद् गरेको र बाँकी रहेको ७ करोड ८६ लाख ४६ हजार मूल्यको १० किलो  ९७६ ग्रामको रिङ्ग बनाउन प्रयोग भएको  भनिए पनि पुष्टि हुने विवरण पेश नगरेको बताएपछि प्रकरण चर्किएको थियो।