July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

ह्वाइट हाउसकी प्रेस सचिव पियरे भन्छिन् – मोदी आधुनिक लोकतान्त्रिक समाजका लागि ‘मिसफिट’

आफ्नो कार्यकालको ९ वर्षमा कहिल्यै पत्रकार सम्मेलनमा जवाफ नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पहिलोपटक अमेरिकामा पत्रकार सम्मेलनमा जवाफ दिनुपर्ने बाध्यता आइलाग्यो।

अमेरिका भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूसँग प्रत्यक्ष कुराकानी गरे। उक्त सम्मेलनमा बाइडेन र मोदीलाई पत्रकारले १-१ वटा सवाल गरेका थिए। जसमा मोदीलाई वाल स्ट्रिट जर्नलकी पत्रकार सबरिना सिद्दिकीले प्रश्न गरेकी थिइन्।

उनले मोदीलाई उनको सरकारमा अल्पसंख्यकमाथि भेदभाव भएको र मानवअधिकारसँग सम्बन्धित रेकर्डबारे प्रश्न गरेकी थिइन्। जवाफमा मोदीले लोकतन्त्र भारतको डीएनए भएको बताएका थिए। उनले भारतको लोकतान्त्रिक मान्यतामा भेदभाव हुँदै नभएको बताउँदै भनेका थिए, ‘लोकतन्त्रको कुरा गर्दा यदि त्यसमा मानवीय मूल्य र मानवता छैन भने त्यो लोकतन्त्र होइन।’

तर मोदी समर्थकहरूबाट उक्त प्रश्न गर्ने सबरिना सामाजिक सञ्जालमा ट्रोलिङ भइन्। उनलाई सामाजिक सञ्जालमा ट्रोल गर्न थालेपछि सबरिनाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएकी थिइन्।

ट्रोलिङ भएपछि अमेरिकास्थित ह्वाइट हाउसले उक्त घटनाको निन्दा गरेको छ। ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरेले भनिन्, ‘भारतको प्रधानमन्त्री भएको कारण उहाँको स्वागत जरुर गर्‍यौँ, तर मोदी आधुनिक लोकतान्त्रिक समाजका लागि ‘मिसफिट’ हुनुहुन्छ।’

ह्वाइट हाउसले निन्दा गरेपछि उक्त विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। मोदी समर्थकहरू बचाउमा ट्विट गरिरहेका छन् भने आलोचकहरू आलोचनामा उत्रिएका छन्। यतिबेला सबरिना सिद्दीकी ह्यासट्याग ट्विटर ट्रेन्डिङको शीर्षस्थानमा देखिएको छ।