July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अख्तियारको टोली पशुपतिमा, सुनको जलहरी परीक्षण र नाप तौल गरिँदै

 

काठमाडौं।

२०७७ फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा अनावरण गरेको सुनको जलहरीकोपरीक्षण तथा नापतौल सुरु गरिएको छ ।

पशुपतिनाथमा चढाइएको सुनमध्ये १० केजी सुनको विषयमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिवलिंगबाट जलहरी निकालेर त्यसको अनुसन्धान गर्न थालेको हो ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जलहरीको परीक्षण तथा नापतौल गरिन लागेको जानकारी दिए।

शिवलिङ्गबाट जलहरी निकालेर तौलिन र परीक्षणका लागि रद्र गाडेश्वरमा ल्याइएको छ । हालिएका जलहरी पनि त्यहाँ नै बनाइएको थियो ।

अख्तियारले अनुसन्धान गर्ने भएपछि कोषले शनिबार पशुपतिनाथमा क्षमा पूजा पनि गरेको थियो । सिसी टिभी जडान गर्नलाई क्षमा पूजा गरिएको जानकारी सुरक्षाकर्मीले दिए पनि आज जलहरीको परीक्षण र नापतौल सुरु भएको छ ।

जलहरी परीक्षण गर्न लागेकाले पशुपितमा भक्तजनलाई दर्शन गर्न पनि बन्द गरिएको छ ।

धार्मिक मान्यता अनुसार एक पटक शिवलिंगमा राखिसकिएको जलहरी निकाल्न मिल्दैन। तर जलहरीमा प्रयोग भएको सुनको तौलमा विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले क्षमा पूजा गरेर जलहरी निकालेर जोख्न लागिएको हो।

पशुपति क्षेत्र विकास कोषले शनिबार क्षमापूजासमेत गरिसकेको छ। स्रोतका अनुसार दक्षिण भारतबाट पण्डित बोलाएर पशुपतिनाथमा क्षमा पूजा गरिएको थियो।

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको विषयलाई लिएर विवाद हुँदै आएको छ। संसदमा समेत पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखिएको भन्दै विवाद भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियोे। सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन्।

करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्। जुन अहिले किनै विवादमा परेको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ।

पशुपति विकास कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ बराबरको १०३ किलो सुन खरिद गरेको थियो। त्यसमध्ये, जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको छ।

यी सबै निर्माण सकिएपछि बाँकी रहेको १० हजार ९७६ ग्राम सुनको रिङ बनाएर जलहरीमा लगाएको कोषले बताएको छ। तर, महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा जलहरीमा लगाइएको रिङ बनाउन सो सुन प्रयोग भएरनभएको पुष्टि हुने कुनै कागजात कोषबाट पेस नभएको उल्लेख गरेको छ।

उक्त समयमा किनिएको १०३ किलो सुनमा मिश्रण गर्न २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिङ्कसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको उल्लेख छ। तर, बाँकी रहेको १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।