July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा छिनछिनमै बत्ति जाने समस्याले उपभोक्ता हैरान

चैत १८ गते रौतहट
नेपाल विद्युत प्राधिकरणको कर्मचारीको चरम लापरवाहीका कारण रौतहटका विद्युत उपभोग गर्ने उपभोक्ताहरु मारमा परेका छन् ।
जिल्लाको कटहरिया,मौलापुर,फतुवा बिजयपुर,देवाही गोनाही सहित अन्य क्षेत्रमा विजुलीको लाइन छिनमै आउने र छिनमै जाने समस्याबाट स्थानीय बासिन्दाहरु हैरान भएका छन् ।
विगत दुई दिनदेखी केही छिन आउने र केही छिनमै कटौती हुने विद्युतको समस्याका कारण स्थानीय बासिन्दाहरु हैरान भएका हुन् ।
दर्जनौपटक छिन छिनमै १० मिनेटदेखी आधीघण्टा, एकघण्टासम्म विद्युत अवरुद्ध हुने गरेको कारण स्थानीय परेशान छन् ।
हरेक दिन १५ पटकभन्दा बढी विद्युत काटिने र आउने समस्याले यहाँका उद्योगी, व्यवसायी मात्र नभई आम सर्वसाधारण समेत आजित बनेका हुन् ।
झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ ।
छिनछिनमै बिजुली आउने र जाने समस्याले आफुहरु पिडित बनेको भन्दै सेवाग्राहीहरुले चुस्तदुरुस्त सेवा उपलव्ध गराउन विद्युत प्राधिकरणसँग माग गरेका छन् ।
यस विषयमा नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रमा सम्पर्क गर्दा नयाँ कार्यालय प्रमुख दिनेश यादवले आफू अहिले सम्म हाजिर नभएको कारण कर्मचारीहरु सँग बुझन जवाफ दिए ।

बिगत एक महिना देखि नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रको सेवा बन्द गरिएको छ । वितरण केन्द्रका कर्मचारीहरूले अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने घोषणा गरेका हुन् ।

केन्द्रका सहायक इन्जिनीयर महेन्द्र चौधरीमाथि कुटपिट भएको विरुद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने गरेका छन् । नयाँ कार्यालय प्रमुखको रुपमा आउन लागेका यादवले भोली देखि सेवा सुचारु हुने बताएका छन् ।