May 22, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

स्वतन्त्रता प्यारो छ, बलिदानको अवमूल्यन नगर

 

आज माघ १६ गते ।

सहिद दिवस । निरंकुश जहानियाँ राणा शासकले सेचत युवाहरूलाई मारेको सप्ताह । वि.सं. १९९७ मा गंगालाल श्रेष्ठ, दशरथ चन्द ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीले प्राणको आहुति दिए ।

हाँसीहाँसी मर्न तयार हुने सहिदबाहेक हरेक व्यक्तिलाई आफ्नै ज्यानको सबैभन्दा बढी माया लाग्छ । तर, यी सहिदहरूले अन्याय–अत्याचारसित आफ्नो ज्यान फिर्ता मागेनन् । क्षमायाचना गरेको भए यिनीहरू बाँच्थे र निरंकुशता पनि बाँच्थ्यो । प्रजातन्त्र जुन समयमा आयो, त्यो समयमा आउने थिएन । वीर सहिदहरूको त्यागको जगमा आजको नेपाल यहाँसम्म आइपुगेको हो । सबै सहिदप्रति असीम श्रद्धाभाव हुनुपर्छ र छ ।

‘सहिदको सपना पूरा गरौँ’ भन्ने नारा र वाणी सधैँ नै सुनिन्छ । तर, यस्तो बोल्नेहरूको व्यवहार भने फरक छ । नागरिकलाई थप स्वतन्त्र बनाउने भन्दा दास बनाउने नीति लिएको देखिन्छ । नागरिकका हक–अधिकार कुण्ठित गर्ने प्रयास गरिन्छ । पदमा रहँदा नागरिकसित साखुल्ले पल्टिने र पदमा पुगेपछि ‘राणा’ बन्ने शैलीको बोलवाला छ ।

निरंकुशताको विरोध गर्दै जन्मेका पार्टीहरू निरंकुश नेताहरूको कब्जामा छन् । माथिकाले बीचका र तलकालाई हेप्छन् । अनि हेपिएका बीचकाले पनि तलकालाई हेप्छन् । पाएसम्म हेप्ने, शोषण गर्ने, दबाउने शैली मूलधारमा छ । यो शैली सहिदहरूको सपना पूरा गर्ने शैली हैन, सपना संहार गर्ने शैली हो ।

शासकलाई निरंकुश बनाउन नागरिकको पनि भूमिका हुन्छ । हामीले अभ्यास गरिरहेको शासन व्यवस्था नाम मात्रको लोकतन्त्र हो । यही नाम मात्रको लोकतन्त्रलाई व्यावहारिक लोकतन्त्रमा परिणत गर्नुपर्छ । तर, यसो गर्नुको साटो हामी लोकतन्त्रकै विकल्प चाहियो भन्छौँ ।

लोकतन्त्रलाई छाडातन्त्र भनेर उदार तानाशाह चाहियो भन्छौँ । छाडा त मुठीभर मालिकहरू मात्र छन् । गरिबका लागि यहाँ तारबार र केरकार मात्र छ, सरकार छैन ।

‘लोकतन्त्र बढी भो ।’ ‘विकास र लोकतन्त्र सँगै जान सक्दैनन् ।’ ‘लोकतन्त्र विलासिता हो ।’ ‘गणतन्त्रभन्दा त राणा–राजातन्त्र नै ठीक ।’ यस्ता वाणी–विचार पनि बेलाबखत सुनिन्छन् । अझ कतिपय बेला आफूलाई खाँटी लोकतन्त्रवादी भन्नेहरूबाटै पनि गुन्जन्छ । बलिदानीका इतिहास पढेको कसैले पनि यस्तो बोली बोल्न नै सक्दैन ।

स्वतन्त्रता सबैभन्दा प्रिय वस्तु हो । हामीलाई स्वतन्त्र भएर व्यवस्थाविरुद्ध नै बोल्न दिएको पनि स्वतन्त्रता अर्थात् सहिदहरूको बलिदानीले नै हो । पिँजडाभित्रको चरालाई त थाहा छ, स्वतन्त्रता कति प्यारो छ । हामी कहिलेकाहीँ के भाका, हामीलाई थुन भन्नु पनि कुनै विचार हो ?

उसै त हाम्रा शासक कानुन उल्लंघन गर्छन् । अझ एकदलीय अर्थात् सहमतीय व्यवस्थामा के होला ? स्वतन्त्र मिडिया र स्वतन्त्र न्यायालय हुँदा त यो हाल छ, लोकतन्त्रबाट पछि फर्किंदा त यहाँ केही बाँकी रहँदैन ।

वीर सहिदहरूको बलिदानी–जीवनी राम्ररी पढ्नेले स्वतन्त्रता बढी भो भन्दै भन्दैन । शासकहरूको आततायी बर्बर आक्रमणलाई ठीक भन्ने कोही सचेत नागरिक हुनै सक्दैन । जात–धर्म–वंश विशेषको राजनीति गर्नु र माग्नु सहिद विरोधी कर्म हो ।

लोकतन्त्रलाई थप उन्नत, समावेशी, सहभागितामूलक, पारदर्शी बनाउनुपर्छ । सामाजिक न्यायको हिसाब–किताब मिल्नुपर्छ । आत्मदाह गर्ने प्रेम आचार्यहरूको आत्मवृत्तान्त राज्यबाट सुनिनुपर्छ । सहिदको सपना पूरा गर्न आत्मदाहीहरू घटाऔँ । सबै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि यही हुनेछ ।