July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पाचौँ पटकको प्रयासमा पाथिभरा मन्दिरमा चढ्याे फावाखोलाको पानी

ताप्लेजुङ ।

पाचौँ पटकमा अन्ततः ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट लगिएको पानी पुगेकाे छ ।

फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाको डढेले मुहानबाट काफ्लेपाटी हुँदै लगिएको पानी पाथीभरा मन्दिरमाथि पुग्न सफल भएकाे हाे । प्रसिद्ध तिर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुगेको छ । यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततः पानी मन्दिरसम्म पानी पुगेको हो ।

यस मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको चाप हुने भए पनि खानेपानी अभाव थियो । यो अभाव पूर्तिका लागि यहाँ विभिन्न किसिमका प्रयास हुँदै आएका थिए । यो पटकको प्रयासले सफलता पाए सँगै अब तीर्थयात्रीहरुले पिउन, हातमुख धुन, अक्षेता मुछ्न सम्मका लागि बोतलमा पानी बोकेर जानु पर्ने बाध्यता हटेको छ । तर हिँउदको बेला चिसोका कारण पानी जम्ने भएकाले अझै १-२ महिना भने तिर्थालुले सहज रुपमा पानी उपयोज गर्न पाउँदैनन् । तर यसको समाधानका लागि प्रयास भइरहेको आयोजनाका ठेकेदार निसान लिम्बु बताउँछन् ।

आयोजनाको २८ महिनापछि मन्दिर परिसरमा पानी खसेको हो । मन्दिर क्षेत्रमा पानी पुर्‍याउने कार्य प्रेरा विष्णु जेभीले गर्दै आइरहेको थियो । काफ्लेपाटीबाट बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटीमा निर्माण भएका ट्याङ्की हुँदै लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी पुग्ने प्रबन्ध गरिएको छ। काफ्लेपाटी सहित ६ वटा ट्याङ्कीमा ५ वटा स्टेशनमार्फत लिफ्टिङ प्रविधि जडान गरी पानी पम्पिङ गरेर मन्दिरतर्फ उकालाे चढाइएकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

यो प्रविधिबाट प्रतिघन्टा ३० हजार लिटर पानी तलबाट माथि मन्दिरमा पुग्ने प्रक्षेपण रहेको छ । लिफ्टिङ प्रविधिको पानीको यो टिकाउपना र भरपर्दो कत्तिकाे हुन्छ भनेर र्हेन बाँकी नै छ ।