काठमाडाैँ ।
हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी १०४ वटा विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी जनाकाे मृत्यु भएको रहेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयाे । उहाँका अनुसार मानवीय क्षतिको हिसाबले पोखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हाे ।
तुलनात्मकरूपमा सुरक्षित भनिने एटिआर सिरिजका विमान दुर्घटना पर्नु आफैँमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ ।
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।
सन १९९१ जुन ९ मा पहिलाेपल्ट आन्तरिकतर्फ नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।
यस्तै १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो ।
सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा हुँदा एक सय ५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए ।
सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटना भए पनि मानवीय क्षति भने भएन ।
सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटकसहित छ जनाको मृत्यु भएको थियो ।
सन् २०१८ मार्चमा बङ्गलादेशबाट नेपाल आएको युएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो ।
सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा तीन जनाको मृत्यु भएको थियो ।
यस्तै सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।
सन् २०२२ को मे २७ मा यती एयरलाइन्सको भगिनी संस्था तारा एयरको ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।
पछिल्लाेपटक यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२)विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खाेँचमा दुर्घटनाग्रस्त भयो । उक्त विमानमा सवार चालक दलका सदस्यसहित ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी एकजनाको अवस्था अज्ञात छ । अझै पनि खोजी कार्य जारी रहेकाे छ । – रासस
More Stories
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली