July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सिन्धुली-२ मा एमालेद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

सिन्धुली ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेका सिन्धुली क्षेत्र-२ का उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

एमालेको पार्टी कार्यालयमा सार्वजनिक गरिएको घोषणापत्रमा विमानस्थल निर्माणदेखि रिंरोड निर्माणका योजनाहरु रहेका छन् । प्रतिवद्धता पत्रमा प्रतिनिधिसभा क्षेत्र-२ का राजनैतिक आयोजनाहरुमा विशेष गरी सडक तथा भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, आधुनिक सहर र बस्ती, पर्यटन, उद्योग र रोजगार लगायतलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

सिन्धुलीको नं २ निर्वाचन क्षेत्र विशेष रणनैतिक योजना अन्तर्गत कमलामाई नगरपालिकामा रिंगरोड निर्माण कार्यलाई विशेष प्रथमिकताका साथ अगाडी बढाईने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । रणनैतिक अयोजना अन्तर्गत कमलामाई नगरपालिका ८ मा विमानस्थल निर्माण गर्ने योजना रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । विमानस्थल निर्माणका लागि पहिलो चरणको अध्ययन तथा प्राविधिकरुपमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) तयार गर्ने कार्य २०७६ सालको जेठ अन्तिम सातामा भएको थियो ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सिन्धुलीको क्षेत्र नम्बर २ का उम्मेदवार मनोज जंगथापाले प्रतिनिधिसभाको सदस्यको मुख्य जिम्मेवारी निति निर्माण रहेको बताउदै जिल्लामा बृहत योजना ल्याउन र कार्यान्वयन गर्न आफूले भुमिका खेल्ने जानकारी दिए । सो प्रतिबद्धता पत्रमा क्षेत्र २ प्रदेश सभा १ तथा २ को आगामी योजनाहरुमा पनि सडक तथा भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र रोजगार, खानेपानी, सरसफाई, सिंचाई, आवास ब्यवस्थापन, बिद्युत, सुचना संचार, महिला, रोजगार र गरिवी निवारण, नदि नियन्त्रण लगायत प्रतिबद्धताहरु समावेस गरिएको छ ।

सडक तथा भौतिक पुर्वाधारमा बिशेष गरि चियावारी खुर्कोट सुरुङमार्ग निर्मार्ण कार्य तथा कमलामाई नगरपालिका ८ सिन्धुलीमा बिमानस्थल निर्माणको काम तदारुकताको साथ अगाडि बढाईने भन्दै मुख्य प्राथमिकतामा उल्लेख गरिएको छ । यस्तै शिक्षामा प्राविधिक शिक्षाको स्तरउन्नती गर्ने, सामुदायिक बिद्यालयको भौतिक पुर्वाधार तथा शैक्षिक गुणस्तरमा बृद्धी गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्यमा स्वास्थ्य सेवालाई सर्वसुलभ गराईने, सिन्धुलीमा औषधी उत्पादन कम्पनी स्थापना गरिने, सिन्धुली अस्पताललाई १०० शैयाको सुबिधा सम्पन्न अस्पताल बनाईने, ट्रमा सेन्टरको स्थापना गरिने, कृषिमा कृषि पेसालाई आधुनिकिकरण गरिने, बाझो जमिनलाई उपयोग गर्दै कृषि उत्पादनमा प्रोत्साहन गरिने, कृषिमा आधारित घरेलु तथा साना उद्योगको स्थापनामा जोड दिने, सिंचाईको उचित प्रवन्ध मिलाईने लगायत समावेस गरिएको छ ।

सो प्रतिबद्धता पत्रमा अति बिपन्न सिमान्तकृत, दलित, एकल, असक्त अपांगता भएकाहरुलाई बिशेष आर्थिक उत्पादनका कार्यक्रम ल्याईने, उज्यालो सिन्धुली अभियान अन्तर्गत बिद्युत बिस्तार हुन बाँकी रहेको क्षेत्रमा बिद्युत बिस्तार गर्ने, महाभारत क्षेत्रमा पर्यटकीय स्थल पहिचान गरी पर्यटन प्रर्वधन र बिकास गरिने, फोन सेवा तथा ईन्टरनेट सेवा नपुगेको स्थानमा सेवा पुर्याईने, महिला सशक्तिकरणको लगि विशेष कार्यक्रम ल्याईने, जेष्ठ नागरिक, अपांगता भएका पिछडिएका बर्गको सुरक्षा गरिने लगायतका जनतामुखी थुप्रै प्रतिबद्धताहरु समावेस गरिएको छ ।

एमालेको तर्फबाट क्षेत्र नम्बर २ प्रदेशसभा १ मा पुर्व प्रदेश सांसद विनोद खड्का र प्रदेशसभा २ मा रामकुमार पौडेल चुनावि मैदानमा हुनुहुन्छ । सिन्धुलीमा नेकपा एमाले क्षेत्र नम्बर २ ले मात्र चुनावि घोषणापत्र गरेको छ । हालसम्म, कुनैपनि पार्टीले सिन्धुलीमा घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

ईमेजखबर