July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रहरी प्रशासनको षडयन्त्रविरुद्ध एमाले रौतहटद्वारा विशाल प्रदर्शन

रौतहट ८ गते चैत

रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ ।

गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सिडियोको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकोले एमालेले जिल्लाको मध्यभाग गरुडामा मङ्गलबार हजारौँको संख्यामा प्रदर्शन गरेको हो । सिडियो र एसपीको राजिनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए ।

एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरी ईलाका प्रहरी कार्यालय गरुडा अगाडी नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले “निर्दोषलाई फसाउन पाईदैन, पक्षपाती सरकार/प्रशासन चाहिदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दाबाद, षड्यन्त्रकारी सिडियोलाई कारवाही गर, हर्षाहा सवारी दुर्घाटनाको उच्चस्तरीय छानबिन गर, मुद्दाको वास्तविकता लुकाउनेहरुलाई कारवाही गर, हर्षाहा सवारी दुर्घटनाको वास्तविक दोषीलाई करवाही गर, राजनीतिक प्रतिशोधले निर्दोषलाई फँसाउने षड्यन्त्र बन्द गर, सवारी दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर, लासमाथि राजनीतिक गर्ने घृणित कार्य बन्द गर” जस्ता नाराहरु लगाइएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष त्रिभुवन साहले दोषी उम्काएर निर्दोषलाई फसाउने कार्य तत्काल रोक्न चेतावनी दिए । आज शान्तिपूर्ण प्रर्दशन गरिएको भए पनि प्रहरी प्रशासनले गठबन्धन सरकारको ईशारामा झालझेल र षडयन्त्र गर्ने कार्य बन्द नगरे जनताले जिल्ला भर प्रतिकार गर्ने र अनिश्चितकालको लागि बन्द हडताल गर्ने बताए । प्रशासनले शान्ति सुव्यवस्था कायम गर्नुको सट्टा जनतालाई झनै भयवित बनाएको बताउदै अध्यक्ष साहले पाँच दलीय चोर गठबन्धनको सरकारको योजनामा प्रहरी प्रशासन चल्नु शर्मनाक परिवेश भएको जीकिर गरे ।

एक साता अगाडि नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपको ड्राइभरले मान्छे पुर्याएर महोत्तरीबाट रौतहट फर्किदै गर्दा गौर-चपुर सडक खण्डको हर्षाहामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको थियो । घटनास्थलमा समातिएको चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएको व्यक्तिको नाममा मुद्दा दर्ता गरेको हो । सुचना प्रविधिको युगमा सिसिटीभी फुटेज र भिडियो क्लिपहरु प्रमाणको रुपमा हुँदा समेत सरकारी षडयन्त्र अनुरुप त्यसमा देखिएको व्यक्तिलाई छाड्ने र निर्दोषमाथि मुद्दा दर्ता भएको दोषी उपर छानबीन गर्न र निर्दोषलाई फसाउने कार्य गरेको सिडियो र एसपीलाई बर्खास्त गरी रौतहटबाट हटाउनुको विकल्प नरहेको केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साहले बताए ।

दुर्घटनाको गहण अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई क्षतिपुर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले राजनीतिक स्वार्थमा चाकडी गरी दुर्घटनाको पीडितको समेत मन दुखाएको उनको आरोप छ ।
केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्ज उद्धव रेग्मीले सिडियो र एसपीले गठबन्धनको सदस्यताले सोझा जनतालाई दमन गरिरहेको बताउदै सरकारले उनीहरुलाई बर्खास्त नगरे एमाले पार्टी पङ्क्तिले रौतहटको सिमा कटाइदिने बताए ।

केही दिन अगाडि एमालेका उपमेयर र वडाध्यक्षलाई सिडियोले गाली दिदा आम रुपमा माफी मागेको थियो भने गरुडामा बिना कुनै कारण प्रभु साहको स्वकीय सचिव विजय यादवलाई प्रकाउ गर्दा डिएसपीले माफी मागेको थियो । योजनाबद्ध रुपमा रौतहटमा गठबन्धनको सरकारको इशारामा एसपी विनोद घिमिरे र सिडियो कृष्ण बहादुर शाहीले एमालेका कार्यकर्तालाई दुख दिने र फसाउने योजना बनाएको उनीहरुको आरोप छ ।

प्रदर्शनमा केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर यादव, प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला उपाध्यक्ष दिपक यादव, सचिव बालविक्रम कार्की, उपसचिव पलट चौधरी, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् पार्टी जिल्ला कमिटी सदस्य निवेश यादव लगायत सहभागी थिए ।