February 10, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पर्साबाट केन्द्रीय सरकारमा रहेका तीन मन्त्रीसंग आजपाको प्रश्न, ‘बिरगंजको बिकासका लागि तपाईहरुले के गर्नुभयो ?’र

बिरगंज १० गते माघ

आम जनता पार्टी (आजपा)ले बिरगंजमा आज सडक पत्रकार सम्मेलन गरेको छ । बिरगंजको घण्टाघरमा आयोजित सो पत्रकार सम्मेलनमा पर्साबाट संघीय मन्त्री भएकासंग आजपाले प्रश्नै प्रश्न गरेको छ ।

पर्साबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् भने नेपाली कांग्रेसका अजय चौरसिया कानून मन्त्री र प्रदिप यादव खानेपानी मन्त्री रहेका छन् । पर्साबाट संघीय सरकारमा तीन जना मन्त्री भए पनि पर्साको बिकासका लागि यि मन्त्रीले केही पनि नगरेको गम्भिर आरोप आजपाले लगाएको छ ।

आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि बिरगंजको बिकासका लागि के–के काम गरेको भन्दै गम्भिर प्रश्न उठाएका छन् । समृद्ध बिरगंज उजाड बनाइएको बताउदै उनले बिरगंजलाई देशको आर्थिक राजधानी बनाउँन माग गरे ।

‘बिरगंज सहित तराई मधेसमा खानेपानीको समस्या दिनदिनै बढदै गईरहेको छ । खानेपानीको हाहाकार छ । तर पर्साबाट खानेपानी मन्त्री भएका मन्त्री ज्यूलाई कुनै चिन्ता र चासो छैन्,’ कुशवाहाले भने, ‘यहाँ जती बिकास भएको छ पहिला नै भएको हो । अहिले तीन तीन जना नेता संघीय सरकारमा मन्त्री हुनुभएको छ । उहाँहरुले बिरगंजको बिकासका लागि के के गर्नुभयो जनता जान्न चाहन्छ ।’

बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार बिरुद्ध खबरदारीसभा बिरगंजमा हालैसम्पन्न गरेको आजपाले त्यसअघि भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सञ्चालन गरेको थियो । बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँनका लागि आजपाले बिभिन्न समितिहरु गठन गरेर काम गरिरहेको जानकारी उनले दिए ।

सडकमै पत्रकार सम्मेलन गरेको आजपाले पर्साबाट केन्द्रमा मन्त्री भएकालाई बिभिन्न प्रश्न गर्दै बिरगंजको बिकासका लागि के के गरेको भन्ने बारेमा पर्साका नागरिकलाई जानकारी गराउन माग गरेको छ । आजपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज लखिन्द्र साहले मन्त्रीहरुले पर्साबासीलाई ढाटने बाहेक अरु केही काम नगरेको आरोप लगाए ।

‘नारायणी अस्पताललाई मेडिकल कलेज किन नबनाएको ? जिर्णअवस्थामा रहेको नारायणी रंगशालाको सुधार कहिले हुने ? स्तरोन्नती कहिले हुने ? ठाकुरराम बहुमुखी क्याम्पसलाई बिश्वबिद्यालय कहिले बनाउँने ? बिरगंजको चिनीमिल कहिले सञ्चालन हुने ?’ साहले प्रश्न गरे, ‘भ्रदगोल बस्तीलाई आधुनिक पूर्वाधारसंग कहिले जोडने ? समृद्धि बिरगंज उजाड किन भयो ?’

बिरगंजमा देखिएको बिकास पञ्चायतकाल र गणतन्त्र अघि नै भएको बताउदै उनले पर्साका मन्त्रीहरुले बिरगंजको बिकासमा ध्यान नदिएको आरोप लगाए । यस्तै आजपाले भ्रष्टाचार बिरुद्ध गरिरहेको बिभिन्न कार्यक्रमको बारेमा समेत जानकारी गराएको छ । आजपा पर्साका अध्यक्ष विश्वराज पटेलले बिरगंजको बिकासका लागि मन्त्री भएकाहरुले बेइमानी गरेको टिप्पणी गरे । यस्तै सिमावती क्षेत्रमा भन्सारको नाममा भईरहेको छिनाझपटीको अन्त्य गर्न उनीहरुले माग गरे । सर्वसधारण नागरिकलाई सिमावती क्षेत्रमा प्रहरीले मनोमानी गरिरहेको भए पनि पर्साका मन्त्रीहरु के पनि नगर्नु लाजमर्दो बिषय भएको पटेलले जनाएका छन् ।