माघ २० गते, आईतवार ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी स्थानीय तह स्तरीय समन्वय समिति, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा पाठेघरको मुखको क्यान्सर र त्यसविरुद्धको प्रभावकारी खोपका बारेमा गहिरो छलफल गरिएको थियो। नगर प्रमुख साहले आफ्नो सम्बोधनमा पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूको प्रमुख स्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै यसका रोकथामका उपायहरूमा विशेष ध्यान दिनुपर्ने बताइन्। उनले नगरपालिकाभित्रका सम्पूर्ण लक्षित बालिकाहरूलाई एचपीभी खोप सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
नेपाल सरकारले यस वर्ष देशभर १६ लाख किशोरीहरूलाई एचपीभी खोप दिने लक्ष्य राखेको छ। सोही अनुसार मौलापुर नगरपालिकाभित्र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई खोप दिने कार्यक्रम तय गरिएको छ। बिश्व क्यान्सर दिवस (माघ २३) देखि फागुन ६ गतेसम्म नगरपालिकाभित्रका विद्यालयहरूमा खोप कार्यक्रम सञ्चालन गरिनेछ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह र स्वास्थ्य प्रमुख डाक्टर अछेलाल साहका अनुसार नगरपालिकाभित्रका विद्यालयहरूमा २,०९५ जना तथा विद्यालय बाहिर रहेका ३७९ जना गरी जम्मा २,४७४ जना बालिकालाई खोप प्रदान गरिनेछ। नेपाल सरकारले चिनियाँ कम्पनी इनोभेक्सले उत्पादन गरेको ‘सिकोलिन’ खोप विश्व स्वास्थ्य संगठन (WHO) बाट मान्यता प्राप्त भएको र गाभीको सहयोगमा सरकारले सह-लगानी गर्दै निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।
सरकारी स्वास्थ्य संस्थाहरूमा यो खोप निःशुल्क उपलब्ध गराइनेछ भने निजी स्वास्थ्य संस्थाहरूमा १०,००० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ। सरकारी रूपमा यो खोपको मूल्य ६,५०० रुपैयाँ तोकिएको छ।
नेपालमा हरेक वर्ष २,१७९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ भने १,३१३ जना महिलाको मृत्यु हुने तथ्यांक रहेको छ। यो क्यान्सर ह्युमन पापिलोमा भाइरस (एचपीभी) का कारण लाग्ने गर्दछ। यसबाट बच्नका लागि जनचेतना फैलाउने, सुरक्षित यौन व्यवहार अपनाउने र एचपीभी खोप लगाउने मुख्य उपायहरू रहेका छन्।
उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, अभिभावक, सञ्चारकर्मी, बुद्धिजीवी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले खोपको प्रभावकारिता, लक्षित समूह, सम्भावित साइड इफेक्ट तथा यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक उपायहरूको बारेमा छलफल गरेका थिए । यस खोप अभियानले पाठेघरको मुखको क्यान्सरको दर घटाउन महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ। नगरपालिकाले सम्पूर्ण लक्षित बालिकाहरूलाई खोप सुनिश्चित गर्न अभिभावकहरूको सहकार्य र व्यापक जनचेतना आवश्यक रहेकोमा जोड दिएको छ।
More Stories
निजगढ अन्तर्राष्ट्रिय विमान स्थलकाे एयर रुटलाई लिएर विवाद खडा नगर्न पुर्ब प्रधान मन्त्री माधव नेपालले भारत सरकारसंग गरे अनुराेध
पोखराबाट प्रभु साहको गर्जन, ‘प्रधानमन्त्रीज्यू तपाई पोखराको पर्यटकीय विकासका लागि के गर्नुभयो ?’
ओलीले दुई तिहाईको बलमा संसदको हुर्मत लिएको प्रभु साहको आरोप