September 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

शिक्षा मन्त्री भट्टराईलाई मौलापुरकी मेयर साहको चेतावनी : अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति नभए विद्यालय बन्द गर्ने

काठमाडौं १४ गते श्रवण

रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले बिधार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएकी छन् ।

आज सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नुपर्ने माग गरेकी हुन् । तहगत र बिषयगत अपुग शिक्षक तत्काल आपुर्ति नगरिए भदौ महिनादेखी मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनी समेत मेयर साहले शिक्षा मन्त्री भट्टराईलाई दिएकी छन् ।

मौलापुर नगरपालिकाका बिभिन्न सामुदायिक विद्यालयमा आठ हजार भन्दा बिद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षक दरबन्दी एक सय ६० हुनुपर्नेमा मौलापुरमा ५८ शिक्षक मात्रै रहेका छन् । हाल मौलापुरमा एक सय २ शिक्षक दरबन्दी अपुग रहेको छ ।

‘मौलापुर नगरपालिकामा आठ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । मौलापुरमा एक सय १६० शिक्षक हुनुपर्नेमा ५८ शिक्षक मात्रै रहेका छन् । तपाई आफै बिचार गर्नुस त ५८ शिक्षकले १६० शिक्षकको पढाउँने काम कसरी गर्न सक्छ ?’ मौलापुरकी मेयर साहले प्रश्न गर्दै भनिन्, ‘कि शिक्षा मन्त्रालयले अपुग शिक्षकको व्यवस्था गर्नुपर्यो वा हामीलाई शिक्षक नियुक्त गर्ने अधिकार दिनुपर्यो । विद्यार्थीको भविष्यसंग मन्त्रालयले खेलवाड गर्न पाउँदैन् । हामीले यस बारेमा सरकारलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई भएको छैन् । सरकारको यस्तै रवैया रहयो भने हामी बाध्य भएर पठनपाठन बन्द गरेर आन्दोलनमा जान्छौं ।’

मौलापुरमा अपुग शिक्षक आपुर्तिका लागि मेयर साहले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएकी छन् । तर सरकारले नसुने जस्तो गर्दै आएको छ । विद्यार्थी अनुपातमा मौलापुरमा मात्रै नभएर मधेस प्रदेशमै शिक्षकको अभाव रहेको छ । तर सरकारले विभेद गर्दै आएको कारण विद्यार्थीको भविष्य अन्धकार बनाउँन खोजेको आरोप मेयर साहले लगाएकी छन् ।

मधेस प्रदेशको पहिलो महिला मेयर साहले भनिन्, ‘विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी नहुँदा शिक्षकको अभावमा मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको पठनपाठन अस्तव्यस्त भई बालबालिकाहरुको भविष्य अन्धकारमा पर्न गएको छ ।’

ज्ञापनपत्र बुझदै शिक्षा मन्त्री भट्टराईले बिभिन्न विद्यालयमा अपुग रहेका शिक्षक दरबन्दी छिटै नै व्यवस्थापन गर्ने गृहकार्यमा लागेको बताईन् । ‘हामी अध्ययन गरिरहेका छौं । बिभिन्न विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएकाले छिटै नै व्यवस्थापन गर्दैछौं । तपाईहरु आन्दोलन नगरिदिनुहोला ।’

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन् ।

शिक्षा मन्त्री भट्टराईलाई ज्ञापनपत्र बुझाउन मौलापुरकी मेयर साहका साथै आम जनता पार्टी (आजपा)का केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साह लगायतको सहभागिता रहेको थियो ।