September 7, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सशस्त्रले नलकटुवा पेस्तोलसहित एकजनालाई समात्यो

रौतहट : सशस्त्र प्रहरी बल रौतहटले आइतवार मध्यरात हतियारसहित एकजना युवकलाई पक्राउ गरेको छ।

रौतहटको गौर नगरपालिका वडा नम्बर नं-२ महादेवपट्टी नाकाबाट सशस्त्र प्रहरीले आइतवार मध्यरातमा घरेलु नलकटुवा पेस्तोलसहित एकजना भारतीयलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको जिल्ला सीतामढी बैरगनिया-३ असोगी निवासी २१ वर्षीय राहुल राम रहेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नखुलेको मोटरसाइकललाई सीमाक्षेत्रमा जाँच गर्ने क्रममा मोटरसाइकलको टुल बक्समा सो हतियार फेला परेको सशस्त्रले जनाएको छ।

पक्राउ परेका रामको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख रहेका एसपी विक्रम हुमागाईंले बताएका छन्।

पक्राउ परेका रामसँगै मोटरसाइकलमा सवार अर्का एकजना भारतीय भने भारततर्फ भाग्न सफल भएको थियो।

एसपी हुमागाईंका अनुसार मध्यरातमा बिना गोलीको हतियारमात्र नेपाल ल्याउनुको अर्थ कसैले अर्डर गरेर मगाएको हुनसक्छ अर्थात पक्राउ परेका भारतीय राहुल राम हतियार कारोबारी हुन सक्छन्।

उनको साथबाट बरामद पेस्तोल, एक थान मोबाइल र मोटरसाइकलसहित उनलाई कारबाहीका लागि सोमवार जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। थाहा संवाददाता