September 7, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मेयरले एकलौटी गरेको भन्दै बौधीमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार

रौतहट- रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रमिला देवी जयसवालले पाँच जना वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी छन् ।

मेयर प्रदिप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमिला देवी जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिष्कार गरेकी हुन् ।

मेयर यादव र उपमेयर जयसवाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयरसहितले नारा जुलुस प्रदर्शन गर्दै नगर अधिवेशन बहिष्कार गरेका थिए ।

मेयर यादवले सोमबार नगरपालिकाको सभाकक्षमा ९ औं नगर अधिवेशनका लागि आयोजना गरेको कार्यक्रममा उपमेयर जयसवालसहित ३३ जना बहुमत कार्यपालिका सदस्यहरूले मेयरसँग प्रतिवाद गरेका थिए । सो क्रममा मेयर यादवले बोलाएको बाउन्सर कार्यपालिका सदस्यका साथ दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

नगरसभा बहिष्कार गर्न पुगेको बेला कार्यक्रममा केहीबेर मेयर यादव र उपमेयर जयसवालका समर्थकबीच धक्कामुक्की समेत भएको थियो ।

उपमेयर जयसवालका समर्थकहरूले नगर अधिवेशन लेखिएको ब्यानर समेत च्यातिदिएका छन् । मेयर यादवले बहुमत सदस्यलाई पेलेरै नगर सभा गर्न खोज्दा उपमेयर जयसवालका समर्थक र मेयर यादवका समर्थकबीच कुटाकुटको स्थिति सृजना भएको थियो ।

आफूहरूसँग कुनै सरसल्लाह नै नगरी नगर प्रमुख यादवले आफ्ना मनोपोली ढंगले नगर अधिवेशन गर्न खोज्दा आफूहरूले नगर अधिवेशन बहिष्कार गरेको नगर उपप्रमुख प्रमिला देवीले आरोप लगाइन् । नगरको सभाहल बाहिर निक्लेर उपमेयरसहितको जनप्रतिनिधिले विवादबारे सम्बोधन गरेका थिए । वडा ३ का अध्यक्ष मणिभुषण साहले कार्यपालिका बोर्डको बैठकमा नगरसभाबारे छलफल नभएको आफूहरूलाई सञ्चार माध्यमबाट जानकारी हुँदा ३२ जना कार्यपालिका सदस्यको हस्ताक्षरसहित आइतबार नै नगरसभा स्थगन गर्न निवेदन दर्ता गराएको बताएका थिए ।

मेयर यादवले मनोमानी तथा बदनियत पूर्ण अधिवेशन गर्न खोजेको बताउँदै अध्यक्ष साहले हालसम्म राजश्व परामर्श समितिको बैठक नबसेको, आव २०८०/०८१ को बजेट प्रस्तुत नभएको, संघ र प्रदेशबाट आएको रकमबारे जानकारी नदिइएको, वडा र नगरको विकास बजेटको सिलिङ वितरण नभएको, २०७९/०८० को आय व्यय माग गर्दा पनि नपाएको, मनोमानी ढंगले दैनिक ज्यालादारी र करारका कर्मचारी भर्ना गरेको, नगरेको आन्तरिक आय बारे जानकारी नदिएको उपमेयरसहित बहिष्कार गर्ने पक्षले बताएका थिए ।

नगर अधिवेशन बहिष्कार गर्नेहरूमा उपमेयर प्रमिला देवी जयसवाल, वडा १ का अध्यक्ष रामाजोधी राउत, २ का धर्मेन्द्र पटेल, ३ का मणि भुषण साह, ७ का नरेन्द्र कुशवाहा, ९ का अध्यक्ष मुक्ति नारायण मिश्रा संगै वडा सदस्य, कार्यपालिका सदस्य समेत गरी ३३ जना रहेका छन् ।

बहिष्कारबारे बौधीमाई नगरप्रमुख प्रदीपकुमार यादवको प्रतिक्रिया लिन फोन गर्दा उनको मोबाइलको स्विच अफ रहेको थियो भने सभा हलमा पत्रकारलाई प्रवेश निषेध गरिएको थियो । इकागज