July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सुदुरपश्चिममा गौरा पर्वको रौनक

 

महेन्द्रनगर ।

सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो । आजका दिन गौराको पूजाआजा गर्न गौरा घर अथवा मन्दिरमा गएर गौरा खेलेर मनाइदै छ ।
गौरा पर्व चन्द्रमासअनुसार भदौ महिनामा मनाइने भए पनि यस वर्ष भदौशुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै मनाउन लागिएको हो ।

यो बर्ष गौरा पर्व मनाउने मितिमा अन्योलता र बहस सृजना भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाद्र ७ गते गौरा पर्वको मिति तय गरेपनि सुदूरपश्चिमका विभिन्न ज्योतिषाचार्यहरुले भाद्र २१ मा नै गौरा पर्व मनाउनुपर्ने कुरामा अडान लिएका छन् ।

सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व कञ्चनपुर कैलाली सहित सुदुरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम संगै छिमेकी देश भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । त्यसै गरि सुदुरपश्चिम् पुर्खयौली घर भइ काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि आजकै दिन काठमाडौको टुडिखेलमा गौरा पर्व मनाउँदैछन् ।

रोजगारीका लागि भारत गएकाहरु पनि गौरा पर्व मनाउन अहिले गाउँ घरमा फर्किएका छन् ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् ।
भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठेवाली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा घर (आँगन) तथा स्थानीय मन्दिरमा शिव र पार्वतीको मुख्यगाथा गाएर पूजापाठ गर्ने चलन रहिआएको छ ।

सप्तमिका दिन शुद्ध कासले वनाएर घरमा भित्र्याएको गौरा देविको मुर्ति र काठको महेश्वरको मुर्ति लाई घरवाहिर ल्याएपछि ब्रतालु महिलाहरुले पालैपालो ति गौरा देवी र महेश्वर लाई टाउको मा राखी खेलाउने गर्दछन । यसरी खेलाउदा उनीहरुले गौरा गित गाउने गर्दछन जसलाई (फाग) भन्ने भनिन्छ । उमा-महेश्वरको पुजा सकिएपछि गौरामा चढाएको विशेष प्रकारको धागो निकालेर व्रतालु महिलाहरुले घाटिमा लगाउने गर्दछन । जस्लाइ दुबधागो (जनेउ) यसै दिन ब्रतालुहरुले ल्याएका र पुजामा प्रयोग गरिएका फल आकाशमा उडाउने गरिन्छ जसलाई स्थानीय भाषामा फल फट्काउने भनिन्छ । यसरी आकाशमा उडाएको फल पाउने ब्यक्तिको चिताएको पूरा हुने जनविश्वास रहेको छ ।

गौराको विसर्जन नभए सम्म विभिन्न धार्मिक स्थल तथा मन्दिरहरुमा महिला र पुरुषको छुट्टाछुट्टै रूपमा गोलबद्ध भएर देउडा खेली रमाइलो गर्ने गर्दछन ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका ’boutमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।

गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ-आफ्नै चलन अनुसार गर्ने गरिन्छ ।

सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते संघीय सरकारले सार्वजनिक बिदा दिएको हो ।
सोहिअनुसार आज प्रदेशका विभिन्न स्थानमा गौरा पर्व मनाइदैछ । सुदुरपश्चिममा यस बर्ष गौरा पर्व मनाउने मितिमा एकरुपता रहेको छैन । केहि स्थानमा भाद्र ७ गते पर्व मनाइदैछ भने केही स्थानमा भाद्र २१ मा नै मनाउने निर्णय सहित पर्खाइमा रहेको देखिन्छ ।