July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार

 

ओम प्रकाश यादव,साउन २१ गते,

रौतहट । जिल्ला कारागार रौतहटमा क्षमता भन्दा करिव दोब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा ठुलो समस्या देखिएको छ । जिल्ला कारागार गौरको क्षमता २ सय जनाको मात्र भएपनि हाल उक्त कारागारमा ३ सय ६८ जना कैदीबन्दी रहेका छन् । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या आएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख (जेलर) मणिभुषण साहले बताएका छन् । भवन अभाव हुँदा क्षमता भन्दा लगभग दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ । प्रयाप्त भवन नहुँदा कैदीबन्दीहरुले एउटै कोठामा क्षमता भन्दा धेरै बस्नु पर्ने बाध्यता रहेको कारण उनिहरुको व्यवस्थापन गर्न समस्या भइरहेको जेलर साहले बताए । क्षमता भन्दा बढी कैदीबन्दी भएपछि कैदीबन्दीहरुलाई खाने, बस्ने, सुत्ने, लत्ता कपडा, शौचालयको अभाव छ भने राशन, विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको जेलर साहले बताए । उनले भने, “कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ।” पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर साहले बताए । जेनतेन गरेर केही स्थानीय तहको सहयोगमा आफुले जिर्ण भवनलाई थोरै व्यवस्थित गरेपनि अझै सुधार तथा मर्मतका काम धेरै गर्न बाँकी रहेको उनले बताए । वर्षाको पानीको निकास नहुँदा वर्षाको समयमा कारागार कार्यालय भित्र पानी जम्ने गरेको र त्यही जमेको पानीमा कैदीबन्दी बस्न बाध्य हुँदै आएको समेत उनले बताए । क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउन समेत समस्या हुने गरेको कैदीबन्दीहरुको गुनासो छ । कारागार भवन धेरै जिर्ण भएकोले आफुहरु बर्षाको समयमा रातीमा राम्ररी सुत्न समेत नपाउने गरेको कैदीबन्दीहरु बताउँछन् । सबैभन्दा ठूलो समस्या शौचालयको रहेको उनिहरुको भनाई छ् । विहान शौचालय जादा घण्टौसम्म पालो कुर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । यस्तै खाना खानको लागि समेत घण्टौ लाइनमा बस्नुपर्ने र सुत्नलाई समेत पालो कुर्नुपर्ने अवस्था रहेको कैदीहरुको गुनासो छ । कैदीको संख्या क्षमता भन्दा बढी हुँदा कोचिएर बस्नुपर्ने बाध्यताका कारण कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमण हुन सक्ने खतरा समेत उतिकै छ । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागारलाई भ्याइनभ्याइ छ । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय रौतहट तथा कारागार विभागलाई समस्याबारे जानकारी गराउँदै आए पनि सुनवाइ नभएको बताइन्छ । आजभन्दा ९१ वर्षअघि वि.सं. १९८९ सालमा स्थापना भएको जिल्ला कारागार कार्यालय रौतहट अहिले संरक्षणको अभावमा दिनप्रतिदिनि जीर्ण बन्दै गएको छ । यस आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय सरकार र विभिन्न दातृ निकायको सहयोगमा कैदीबन्दीको सुविधाका लागि थप तिन वटा शौचालय निर्माण गरिएको छ भने कैदीबन्दीको फोन गर्ने ठाउँ, खाना खाने ठाउँलाई मर्मत गरी व्यवस्थित गरिएको छ । त्यस्तै १५ थान पंखा, दुई वटा पानी तान्ने मोटर, हाते पम्प एक थान र २० वटा त्रिपाल कैदीबन्दीहरुलाई विभिन्न श्रोतबाट उपलब्ध गराइएपछि उनिहरुलाई थोरै राहत भएको जिल्ला कारागाार कार्यालयले जनाएको छ ।