July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

लुम्बिनी प्रदेशसभाले ‘स्थानीय तहमा प्रदेश सभा’ कार्यक्रम सञ्चालन गर्ने

 

बुटवल

लुम्बिनी प्रदेशसभाले स्थानीय तहमा प्रदेशसभा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । निर्माण भएका कानूनको कार्यान्वयनको पक्ष, अब बन्ने कानूनमा एकरूपता ल्याउन र प्रदेशसभा र स्थानीय सरकारबीच कानूनीरूपमा चिनजान नभए पनि आपसी समन्वयका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जानकारी गराए।

“स्थानीय सरकारले प्रदेश सरकारलाई चिन्छ, तर प्रदेशसभालाई चिन्दैन”, उनले भने, “कानूनीरूपमा स्थानीय सरकार र प्रदेशसभाको बीचमा कुनै प्रकारको समन्वय नै छैन ।” प्रदेशसभाले बनाएका कानून स्थानीय सरकारलाई पनि आवश्यक पर्ने र त्यो कानून स्थानीय सरकारले बनाउँदा नबाझिने हुनुपर्ने भए पनि समन्वयको अभावमा कतिपय कानून बाभिएका पनि हुनसक्ने भएकाले त्यस्तो समस्या आउन नदिनका लागि पनि समन्वय आवश्यक रहेको सभामुख घर्तीले बताएका हुन् ।
उनले आइतबार बुटवलमा आयोजना गरेको पत्रकारसँग अन्तरक्रियामा सङ्घीय, प्रदेश र स्थानीय तीनवटै सरकारले कानून निर्माण गरिरहेको र एकापसमा बाझिएको छ वा छैन भन्नेसम्मको अध्ययन गर्ने निकाय नहुँदा पनि यसलाई कसरी समाधान गर्न सकिएला भन्ने जिज्ञासा राख्नुभएको थियो । त्यस्तै उहाँले कानून बनिरहे पनि कार्यान्वयन पक्ष कमजोर रहेको औँल्याए ।
त्यस अवसरमा पत्रकारहरूले बनेका कानूनको अध्ययन गर्न र अब बन्ने कानूनका लागिसमेत सुझाव दिनेगरी विज्ञ समिति गठन गर्न सुझाव दिएका छन् । कार्यक्रममा पत्रकार माधव नेपालले कानून निर्माण गर्दा कार्यान्वयनमा सहज हुने खालको कानून बनाउन सुझाव दिए । उनले एउटा मिडिया हाउसले विभिन्न नाममा १२/१३ ठाउँमा कर बुझाउनुपर्ने बाध्यता रहेको औँल्याउँदै कर तिर्नका लागि एकद्वार प्रणाली बनाउनु सुझाव दिए ।
त्यस्तै बनेका कानून बाझिएका छन् वा छैनन् अध्ययन गर्न विज्ञ समिति बनाउन र अब बनाइने कानून अझै बढी अध्ययन गरेर बनाउनसमेत सुझाव दिए । त्यस्तै सङ्घीय मामिला पत्रकार समाजका अध्यक्ष विष्णु घिमिरेले कतिपय बनिसकेका कानूनमा दोहोरोपनको समस्या आएको बताउँदै त्यस्ता समस्या नआउने गरी काम गर्न सुझाव दिए ।