July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गण्डकी प्रदेशसभा : सरकारलाई रुलिङ गर्न सांसदको माग

 

पोखरा ।

गण्डकी प्रदेशसभाका सांसद कृष्णप्रसाद पाठकले सरकारलाई रुलिङ गर्न सभामुखसँग  माग गरेका छन् ।

मंगलबार जारी प्रदेशसभाको बैठकमा बोल्दै सांसद पाठकले आफूहरूले संसदमा उठाएका विषयलाई सरकारले गम्भीर भएर नलिएको भन्दै रुलिङ गर्न माग गरेका हुन् ।

‘एउटा सांसदले सभामा उठाएका विषय वस्तुहरू जनतासँग सम्बन्धित छ । जुन कार्यान्वयन गर्न जरुरी छ । यस्ता विषय वस्तुहरू कार्यान्वयन गर्नको निमित्त यहाँ बोलेका कुराहरु सम्बन्धित निकायमा सम्बन्धित प्रशासनिक निकायहरुमा लिखित ढंगले पठाउनका निमित्त सरकारलाई सभामुख महोदयले रुलिङ गर्नुपर्ने आवश्यकता भयो । यसकारण म रुलिङको माग गर्दछु,’ सांसद पाठकले भने ।

सांसद पाठकले प्रदेशसभा केबल कानुन निर्माण र बजेट प्रस्तुत गर्ने थलो मात्र नभएको बताए । उनले सांसदहरू सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरूको भएकाले सरकारले यसलाई बेवास्ता गर्न नमिल्ने बताए ।

‘जनताका प्रतिनिधिहरूले जनताका आवाज उठाइरहेका छन् । शून्य समय र विशेष समयमा मान्यजयूहरुले पटकपटक धेरै कुराहरु उठाइरहेका छन् । जुन कुरा जनतासँग सरोकार राख्छ,’ उनले भने, ‘यसरी बोलिएका कुराहरु कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्छन् । तर, यो सरकारले जति मान्यज्यूहरुले यहाँ जनतासँग सरोकार रहेका विषयवस्तु राख्नुभएको छ । ती विषयहरुलाई सम्बन्धित निकायहरुमा, यूनिटहरुमा लेखेर पठाउने, लेखेर जानकारी गराउने कार्यान्वयनका निमित्त भन्ने काम भएको छैन ।’

गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल जारी रहेको छ ।