July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कृषकलाई हाते ट्याक्टर वितरण

 

म्याग्दी, असार १४ गते

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । एक कार्यक्रमबीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यावसायिक रुपमा कृषिखेती गर्दैआएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कृषि औजार वितरण गरेको हो ।

गाउँपालिकाले हाते ट्याक्टरका साथै सुन्तला खेती गर्ने कृषकलाई सुन्तला टिप्नका लागि प्रयोग गर्ने भ¥याङलगायतका कृषि औजारहरु समेत वितरण गरेको छ । किसानलाई आधुनिक खेतीतर्फ उन्मुखगराउने उद्देश्यले गाउँपालिकाको पाँच लाख ९९ हजार र कृषकको सोही बराबरको रकम तिरेका कृषकले कृषि औजार अनुदानमा प्राप्त गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

कुल ११ लाख ९८ हजार चार सय रुपियाँ बजेटमा गाउँपालिकाले आधा र कृषकले आधा रकम योगदान गरेको उहाँको भनाइ छ । अगुवा कृषक र कृषक समुहलाई गरी १६ वटा मिनिटेलर हलो, १० वटा तौल मेशिन, नौ वटा सुन्तला टिप्ने भ¥याङ, २३ वटा सिकेटर र २० वटा आरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको अन्नपुर्ण गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्तबहादुर शाहीले बताउनुभयो ।

चालू आर्थिक बर्षको ११ लाख ९८ हजार पाँचसय रुपियाँ बजेटमार्फत कृषकको मागका आधारमा छिटोछरितो र सहज रुपमा काम गर्ने प्रविधिहरु खरिद गरेर कृषकलाई वितरण गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी र कृषि शाखा प्रमुख शाहीले कृषकलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष पुनले कृषि खेती गर्ने परम्परागत प्रणालीलाई सुधार गर्दै आधुनिकीकरणतर्फ लैजाँदै कृषकको उत्पादन वृद्धि गराउन कृषिऔजार वितरण गरिएको बताउनुभयो ।

कृषितर्फ पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी आर्थिक बर्षमा कृषिलाई प्राथमिकता दिएर करिव एक करोड बजेट विनियोजन गरेको अध्यक्ष पुनले बताउनुभयो ।